पर्वतका कोरोना संक्रमित आइसोलेसनमा यसरी गर्दैछन रमाइलो, सबैको स्वास्थ्य अबस्था सामान्य

पर्वत , जेठ २४/कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पर्वत सदरमुकामस्थित कोरोना अस्पताल (अस्थायी) मा ५ जनालाई आइसोलेसनमा राखेर उपचार चलिरहेको छ।

मङ्गलबार दिउँसो १ बजे उनीहरू क्‍वारेनटाइनबाट आइसोलेसनमा सारिएका थिए। क्‍वारेन्टाइनमा रहँदा सङ्क्रमण भएको रिपोर्ट आउने त होइन ? भन्ने चिन्तामा रहेका उनीहरूको दैनिकी बाहिर सोचेको भन्दा फरक छ।

आम नागरिकहरूले कोरोनाको विषयमा गरिरहेको अनावश्यक चिन्तनका माझमा सङ्क्रमितले दिएको सन्देश भने अनुशरणयोग्य छ। पर्वतका सङ्क्रमितहरू आइसोलेसनमा लगिएपछि भने हाँसो र रमाइलोको साथमा समय काट्न थालेका छन्।

चिन्ता गर्दा शरीरको शक्ति नास हुने भन्ने सुनेको र चिकित्सकहरूले पनि त्यही कुरा बताएकोले क्‍वारेनटाइनमा भन्दा आइसोलेसनमा रमाइलो गरिएको फलेवास नगरपालिकाका एक जना सङ्क्रमितले बताए। ‘रिपोर्ट पोजेटिभ नै आयो, अब चिन्ता गरेर काम छैन। जे नहुनु थियो त्यो त भयो।’ उनले फोनमा कुरा गर्दै भने, ‘के गरेर दिन कटाउनु र सर ? पीर गर्ने हो भने आफैं कमजोर बनिन्छ। साथीहरूको माझमा हाँसोरंग गर्दै खुस रहेका छौँ।’

कोभिड १९ बाट संक्रमित भएकाले आत्मबल बलियो पार्दै शरीरको प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउनुपर्ने चिकित्सक तथा मनोवैज्ञानिकहरूले बताइरहेका छन्। पर्वतका कोरोना सङ्क्रमित अन्तका सङ्क्रमितलाई आत्मविश्वास नै बलियो हुने भएकाले पीर नगर्न सुझाउँछन्। ‘रिपोर्टले त हामीमा पोजेटिभ देखायो, तर हामीमा कुनै पनि लक्षण देखिएका छैनन्। हामी यही हलमा एक्सरसाइज गर्छौँ। वाईफाई चलाएर यूट्युबमा रमाइला कुरा हेर्छौँ। यसले चिन्तालाई दूर गरेको छ,’ अर्का एक सङ्क्रमितले भने, ‘हामीलाई विश्वास छ अब पनि हामीमा कुनै पनि लक्षण नदेखिँदै निको भएर घर फर्किन पाइने छ।’

रोग सबैलाई लाग्ने तर आत्मविश्वासले त्यसलाई पचाइदिने उनले बताए। गत हप्ता बुधबार आपूmहरू भारतको नयाँ दिल्लीबाट गृह जिल्ला फर्किने बेलामा सकेसम्म सुरक्षित तरिकाले अपनाए पनि संक्रमण भएको उनले बताए। सोही कारण आम नागरिकले कडाइका साथ सुरक्षाका उपाय अवलम्बन गर्न उनी सुझाउँछन्। समयअनुसार खानेकुराहरू खाने, बाटोमा हिँड्दा अरूसँग छोइन नहुने, सेनिटाइजर र मास्क प्रयोग गर्ने, साबुन पानीले हातमुख धुनेलगायत तरिका बारम्बार सुन्न र पढ्न पाइने तथा यिनमा हेलचक्रयाईँ गर्न नहुने पनि सङ्क्रमितहरू सुझाव दिन्छन्।

जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटाले पनि पर्वतका पाँचै जना सङ्क्रमितको अवस्था सामान्य रहेको र उनीहरूमा कुनै पनि लक्षण नदेखिएको बताए। उनीहरूको आत्मविश्वासलाई बलियो पार्न आफूहरुले पटक पटक फोनमा कुरा गरिरहने, आइसोलेसनमा पुगेर उनीहरूको अवस्थाबारे ख्याल गरिरहने डा देवकोटाको भनाइ छ।

कोरोनाका संक्रमितहरु नदेखिएको पर्वतमा मंगलबार एकै पटक ५ जनामा संक्रमण रहेको पुष्टि भएको थियो। भारतबाट उद्धार गरी ल्याइएकामध्ये फलेवास नगरपालिकाका २ जना र महाशिला गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको हो। क्‍वारेन्टाइनमा रहने बेलामा संक्रमणको पुष्टि भएकासँगै बसेका अन्य २ जनालाई पनि आइसोलेसनमा नै राखिएको छ। डा देवकोटाका अनुसार संक्रमितको सम्पर्कमा पुगेका ती २ जनामा भने कोरोना संक्रमण नेगेटिभ रहेको पाइएको छ।थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

पश्चिम पृतनामा भूपू सैनिक सम्मेलन सुरु

समाजसेवी गुरुङको पहलमा ब्लड क्यान्सर पिडीतलाई ३ लाख सहयोग

एमाले प्रमुख सचेतक गिरी निर्वाचन क्षेत्रका मतदाता भेटघाटमा ब्यस्त

एम्पायर हल सञ्चालक पर्वतको कुस्माका गिरीले लण्डनको अल्डरसटमै खोले सुसी मोटो रेष्टुरेन्ट

विवादित विधेयकप्रति एमालेको भूमिका-देशको हितविरुद्धका जुनसुकै कदमको प्रतिवाद गर्छौँ : प्रमुख सचेतक गिरी