बाँझो रहेको ९० रोपनी जमिनमा सामूहिक आलु खेती

स्याङ्जा, २३ जेठ/आँधीखोला गाउँपालिकाका किसान सामूहिक आलु खेतीमा आर्कषित भएका छन् । गाउँपालिकाले अनुदानमा आलुको बिउ र मल उपलब्ध गराएपछि आँधीखोला–१ का किसानहरु सामूहिक आलु खेतीमा लागेका हुन् ।
लामो समयसम्म बाँझो रहेको ९० रोपनी जमिनमा भक्किम्ले, दत्तेलोटे र त्रिवेणीका ५४ घरपरिवारले सामूहिक आलु खेती गरेका हुन् ।
गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले किसानलाई सामुहिक कृषि खेतीतर्फ आर्कषित गर्नको लागि अनुदाको ब्यवस्था मिलाएको बताए । ‘कृषिमा आत्मनिर्भर नहुँदासम्म समृद्धि आउदैन, समृद्ध आँधीखोला निर्माण गर्ने अभियानअन्र्तगत किसानलाई माटो सुहाउँदो खेती लगाउन प्रोत्साहान गरेका छौ’ अध्यक्ष पौडेलले भने । बाँझो जमिनमा किसानले गरेको मेहनतले हामीलाई कृषि क्षेत्रमा काम गनै थप उत्साहित बनाएको उनले बताए ।
किसान सामूहिक खेतीमा उत्साहित भएर आलु खेती गर्न थालेपछि कृषि प्राविधिक पनि खेतबारीमै पुगेर खेती प्रणालीबारे जानकारी दिन थालिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक विबेक आचार्यले बताउँछन् । ‘सामूहिक खेतीमा उत्साहित किसानलाई थप उर्जा भर्न खेतबारीमै पुगेर आलु लगाउने तरिका, देखिने समस्या, सुधारका उपाय र प्रविधिक ज्ञान दिन थालेका छौ’ आचार्यले भने ।
काठमाण्डौंमा होटल ब्यावसाय संचालन गर्दै आएका ३३ वर्षिय युवा चुडामणी पौडेल अहिले गाउँमा सामूहिक आलु खेतीमा लागेका छन् । उनी भन्छन्– ‘अब युवाले नै कृषि क्षेत्रमा क्रान्ति गर्नुपर्छ भनेर लागेका छौ, सामूहिक आलु खेतीलाई विस्तार गरेर यस क्षेत्रलाई आलुजोनको रुपमा विकास गर्ने सोच छ ।’ समुहमै आवद्ध भएर थालिएको आलु खेतीले उत्साहित बनाएको ६५ वर्षिय कृषक टिकाराम पौडेल (नानीबा)ले बताए । अर्को वर्षदेखि आलु खेती विस्तार गर्ने योजना रहेको उनले सुनाए ।
आलु खेतीको लागि प्रख्यात रहेको भक्किम्ले, दत्तेलोटेका किसान केही वर्षदेखि आलु खेती गर्न छाडे अहिले फेरि सुरु गरेका छन् । युवाशक्ति विदेशिने क्रम बढ्दै जानु र गाउँबाट सहरबजारमा बसाईसराई हुने क्रम बढेसंगै करिब १५ वर्षदेखि रोकिएको आलु खेतीले अब भने निरन्तरता पाउने कृषकहरु बताउँछन् ।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिउविजनसंगै कृषि प्राविधिकको व्यवस्था गरेपछि कृषक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् । माटोमा बढ्दै गएको अम्लियपन हटाउनको लागि कृषि चुनका साथै गाउँपालिकाले ४५ सय किलो आलुको विउ उपलब्ध गराएपछि डहरे देउराली प्रगतिशिल युवा कृषक समुह लगायत गाउँका कृषक मिलेर बर्खे आलु लगाएका हुन् ।