सेती र महाकाली अस्पताल बिरामीले भरिए, कैलालीका ७ संक्रमित मध्यराति फर्काइए

महेन्द्रनगर, जेठ २१/ सुदूरपश्चिमका कोरोना विशेष अस्पताल- महाकाली अस्पताल र सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्ड बिरामीले भरिएका छन्। जसले गर्दा मंगलबार थपिएका कोरोना संक्रमित राख्न समस्या भएको छ।

सेती प्रादेशिक अस्पतालमा रहेका २४ वटा आइसोलेसन बेड भरिएपछि कैलालीको गौरीगंगा नगरपालिकाका-२ मालिका माध्यमिक विद्यालय र वडा-४ काे कालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा भेटिएका ७ संक्रमितलाई भर्नै नगरी फर्काइएको हाे।

मंगलबार राति एम्बुलेन्समा राखेर अस्पताल पुर्‍याइएका उनीहरूलाई अस्पतालले भर्ना नलिएपछि फर्काएर ल्याउन बाध्य भएको गौरीगंगा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले बताइन्। ‘राति १ बजेसम्म पर्ख्याैँ, तर भर्ना लिइएन,’ उनले भनिन्।

अहिले ती ७ संक्रमितलाई गौरीगंगा नगरपालिका-४ स्थित निर्माणाधीन प्रसूति सेवा गृहको भवनमा राखिएको छ। ‘हामीले व्यवस्थापन गर्न सकेनौं, यस्तो अवस्थामा प्रदेश सरकारले पनि हेरेन, अस्पतालमा भर्ना नगरिएपछि राति नै यहाँको राधाकृष्ण मन्दिरको सभाहलमा संक्रमितलाई राख्न खोजिएको थियो, तर स्थानीयले विरोध गरेपछि निर्माणाधीन भवनमा राख्न बाध्य भएका हौं,’ नगर उपप्रमुख चौधरीले भनिन्।

ती संक्रमितलाई कोरोनाका लक्षण देखिसकेकाे र स्वास्थ्यमा समस्या हुन थालेको उनले बताइन्। उनका अनुसार ७ संक्रमित राखिएकाे भवनमा न ढोका छ, न बिजुली।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले अस्पतालको आइसोलेसनमा क्षमताभन्दा बढी बिरामी रहेको बताए। उनका अनुसार २४ बेड क्षमताको अस्पतालको आइसोलेसनमा अहिले २५ बिरामी छन्। ‘हामीसँग समन्वय नै नगरी संक्रमित ल्याउनुभएछ, अरू बिरामीलाई जस्तो बाहिर राखेर उपचार गर्न मिल्दैन। त्यसैले भर्ना लिएनौं,’ उनले नेपालखबरसँग भने।

धनगढीस्थित ५० बेडको कोरोना अस्पताल सञ्चालन हुन नसक्दा संक्रमित व्यवस्थापन गर्न निकै गाह्रो हुने देखिएको छ। ‘इन्टरनल सेटअप मिलाउन बाँकी रहेकाले कोरोना अस्पताल सञ्चालनमा आउन तीन–चार दिन लाग्न सक्छ,’ सूचना अधिकारी श्रेष्ठले भने।

महाकाली अस्पतालको आइसोलेसन पनि भरिभराउ
महेन्द्रनगरस्थित महाकाली अस्पालको आइसोलेसन कक्ष पनि बिरामीले भरिएका छन्। अस्पतालमा कोरोना संक्रमित र यसका शंकास्पद बिरामी राख्न २० र १० बेडका छुट्टाछुट्टै आइसोलेसन छन्। शंकास्पद बिरामी राख्ने आइसोलेसनमा १६ जना राखिएको अस्पतालका डा. सरोज आचार्यले जानकारी दिए। उनका अनुसार संक्रमित राख्ने आइसोलेसनमा भने अहिले ८ जना छन्।

बिरामी राख्न आइसोलेसन अभाव भइरहेका बेला ठेकेदारको लापरबाहीका कारण अस्पताल परिसरमा निर्माणाधीन ५० शयाको कोरोना अस्पताल समयमा सकिएन। सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त १ करोड रुपैयाँको लागत निर्माण भइरहेकाे कोरोना अस्पताल यही जेठ ७ मा सक्ने सम्झौता थियो। तर अझै पूरा हुन नसक्दा समस्या भएकाे हाे।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’

पर्वतका नयाँ प्रजिअ आचार्य र सहायक प्रजिअ पौडेललाई वाणिज्य संघको स्वागत

देशका यी भू-भागमा आज पनि वर्षा र हिमपातको सम्भावना

कांग्रेसभित्र मन्त्री छनोटको विवाद सतहमा, देउवा एक्लै चल्न खोज्दा भागबण्डाले पूर्णता पाएन

निर्माण सामाग्री अभावमा मालढुंगा-बेनी सडकको काम रोकियो