होटललाई ‘पुलिङ क्वारेन्टाईन’ –आर्थिक हिसाबले थेग्नै नसकिने, ब्यबस्थापनमै समस्या

पर्वत , जेठ २० / भारत तथा तेस्रो मुलुकबाट उद्दार गरेर जिल्लामा ल्याउने नागरिकलाई राख्न कुस्माका होटलहरुलाई ‘पुलिङ क्वारेन्टाईन’ बनाउने निर्णय पछिल्ला दिनमा आउँदा कार्यान्वयनमा जटिलता देखिन थालेको छ ।
होटलमा राख्नका लागि आर्थिक हिसाबले स्थानिय तहले थेग्नै नसक्ने अबस्थामा पुगेका छन भने भारतबाट आउनेको संख्या उल्लेख्य भएकाले ब्यबस्थापन गर्न नै कठिन भएको हो ।
कोभिड १९ नियन्त्रणका लागि जिल्लामा गठित कमाण्ड पोष्टको निर्णय अनुसार भारत तथा तेस्रो मुलुकबाट उद्दार गरि ल्याउनेलाई राख्नका लागि पोखरा –बागलुङ्ग सडक खण्डमा रहेका होटलहरुलाई ‘पुलिङ क्वारेन्टाइन’ बनाइएको छ । शुरुमा थोरै संख्यामा आउँदा पिसिआर परिक्षण देखि संक्रमितलाई आइसोलेसन सम्म पु¥याउँन यो निर्णय प्रभाबकारी देखिएको थियो । तर पछिल्ला दिनहरुमा धेरै नागरिक स्वदेश फर्कन थालेका कारण दुई वटा होटलले मात्रै भार थेग्न सकेका छैनन भने होटलको बिल भुक्तानी गर्न कठिन अबस्था आएको भन्दै स्थानिय तह पछि हट्न थालेका छन । ‘होटललाई क्वारेन्टाईन बनाउँदा बिल भुक्तानी गर्न कठिन हुने अबस्था आयो’ कुस्मा नगरपालिकाका नगरप्रमृुख रामचन्द्र जोशीले भन्नुभयो ‘अब बिद्यालय र क्याम्पसहरुमा नै क्वारेन्टाईन बनाउनुको बिकल्प छैन’
पर्वतमा मंगलबार दिउँसो सम्म १ सय ६९ जना जिल्ला आएका छन । त्यस मध्ये ४८ जनाको नेगेटिभ रिर्पोट आएका कारण सम्बन्धित पालिकामा बनेका क्वारेन्टाइनमा राख्न पठाइएको छ। मंगलबार बिहान नेगेटिभ रिर्पोट आएकालाई पनि पालिकामा पठाउने तयारी छ। कुस्माको एउटा होटलमा एकै दिन ९४ जना सम्म ब्यक्तिलाई राखिएको छ । दुई वटा होटल बाहेक अन्यत्र राखिएको छैन । सिमानामा आउने ब्यक्तिललाई एकद्वार नितिका आधारमा जिल्ला ल्याउने काम भएको छ । सबैलाई होटलमा राख्दा एकै दिन एउटै होटलमा लाखौ रुपैंया बुझाउनु पर्ने भएपछि बिद्यालयहरुमा क्वारेन्टाईन बनाउँदा आर्थिक हिसाबले सहज हुने नगरप्रमुख जोशीको भनाई छ। पिसिआर परिक्षण पछि पनि नेगेटिभ रिर्पोट आउनेलाई सामुदायिक क्वारेन्टाईनमै राख्नुपर्ने भएकाले भारतबाट ल्याउँदा नै क्वारेन्टाईनमा राख्ने योजना बनाइएको छ । पिसिआर परिक्षण गर्नका लागि कम्तीमा ५–६ दिन राख्नुपर्ने र रिर्पोट आउँदा थप एक दुई दिन लाग्ने भएकाले एक हप्ता सम्म होटलमा राख्नुपर्ने अबस्था छ । आर्थिक भार थेग्न नसकेकाले होटलमा बस्न चाहनेले आफैं खर्च गरेर बस्ने र सामुदायिक क्वारेन्टाईनमा बस्नेलाई स्थानिय तहले ब्यबस्थापन गर्ने नगरप्रमुख जोशीले जानकारी दिनुभयो ।
बिदेशबाट फर्कनेको संख्या बढ्दा एउटै होटलमा धेरै जना राख्दा संक्रमणको जोखिम र ब्यबस्थापनमा समेत समस्या देखिन थालेको छ । सबैलाई एकै ठाउँमा राख्दा भद्रगोल अबस्था देखिएको निष्कर्ष निकालेर क्वारेन्टाईनको संख्या पनि थप्ने निर्णय भएको छ । स्थानिय तहका प्रमुख सहित जिल्ला प्रशासनमा बसेको सिसिएमसीको बैठकले पर्वतको कुस्मामा रहेका क्याम्पस र बिद्यालयहरुमा क्वारेन्टाईन बिस्तार गर्ने र होटलको क्षमता भन्दा बढी नराख्ने निर्णय पनि गरेको छ । तत्कालका लागि कुस्माको शिबालय माबि र गुप्तेश्वर बहुमुखी क्याम्पसमा क्वारेन्टाइृन बिस्तार गर्ने निर्णय भएको छ भने भबिश्यमा संख्या थपिएमा थप बिकल्प खोजिने प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मीले बताउनुभयो । ‘होटलमा मात्रै राख्दा कम र अपर्याप्त देखिन थालेका कारण क्वारेन्टाईन थप्नुपर्ने अबस्था देखियो’ उहाँले भन्नुभयो ‘तत्कालका लागि कुस्मामा नै बिस्तार गर्ने र भबिश्यमा नजिकका पालिकामा पनि जान सकिने निर्णय गरेका छौ’
पिसिआर परिक्षण गरेपछि कोरोनाको संक्रमण देखिएमा उपचारका लागि राख्ने र नेगेटिभ आएमा सम्बन्धित पालिकामा पठाएर तीन हप्ता क्वारेन्टाईनमा राख्ने निर्णय कार्यान्वयनमा आइरहेको छ । होटलमा राखेर पिसिआर जाँच गर्दा संक्रमितलाई कुस्माको कोरोना अस्पतालमा ल्याउन सजिलो हुने मात्रै होइन संक्रमित भए नभएको बारेमा पहिचान गर्न समेत सहज हुने देखेर जिल्ला कमाण्डपोष्टले निर्णय गरेको थियो । सिमानाबाट सुरक्षा ब्यबस्था सहित ल्याउँदा भारतबाट आउने ब्यक्तिहरु अन्य ब्यक्ति संग सम्पर्कमा नआउने र होटलबाटै परिक्षण गरि निस्कदा सिंगो समुदाय सुरक्षित बन्छ भन्ने निष्कर्ष निकालिएको थियो ।