पर्वतका स्थानिय तहलाई बिशेष र समपुरक अनुदान मार्फत साढे ११ करोड बजेट(योजनाको बिबरण सहित)

पर्वत, जेठ १९, जिल्लाका लागि संघीय सरकारबाट समपुरक अनुदान तर्फ ७ करोड १२ लाख रुपैंया विनियोजन भएको छ । पर्वत जिल्लाका ७ स्थानिय तह मध्ये ४ स्थानीय तहले पाउने गरि चार वटा योजनामा ७ करोड १२ समपुरक अनुदान पाउने भएका छन ।
जिल्लाको कुश्मा नगरपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र विहादी गाउँपालिकाले समपुरक अनुदान पाउनेछन । विहादी गाउँपालिकाले समपुरक अनुदान तर्फ ४ करोड रुपैंया प्राप्त गर्नेछ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको सचिबालयले दिएको जानकारी अनुसार सबैभन्दा धेरै अनुदान बिहादी गाउँपालिकाले पाउँदैछ । बिहादीमा शालिग्राम–देउराली–छाप–काब्राङ्ग सडकमा उक्त रकम खर्च हुनेछ ।
महाशिला गाउँपालिकाले समपुरक अनुदान तर्फ १ करोड ३६ लाख रुपैंया प्राप्त गर्नेछ । महाशिलामा लुंखुको मिलनचोक देहि भोक्सिङ्ग हुँदै होस्राङ्गदी जाने सडकमा यो रकम खर्च हुनेछ । यो सडक पोखरा – रिडी सडकको एक खण्ड पनि हो ।
यसैगरी मोदी गाउँपालिकाले समपुरक अनुदान तर्फ १ करोड २० लाख रुपैया प्राप्त गर्नेछ । मोदी ५ को महेन्द्रशिखरी माबिको भवन निर्माणका लागि यो रकम बिनियोजन भएको हो । यस्तै कुश्मा नगरपालिकाले समपुरक अनुदान तर्फ ५६ लाख रुपैंया प्राप्त गर्नेछ । कुस्मामा पाङ्ग कुनाचौरको मेल मैदान निर्माणका लागि रकम खर्च हुनेछ ।
बजेट बक्तब्यमा पर्वतको फलेबास, पैंयु र जलजला गाउँपालिकाले समपुरक अनुदान नपाउने उल्लेख छ तर फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माका अनुसार बजेटमा फलेवास नगरपालिकाको रकम छुट गए पनि थप ५ करोड समपुरक अनुदानमा फलेवास समेत रकम आउने पक्का भएको छ ।
उनले प्राविधिक कारण बजेट किताबका रकम छुट गएको मन्त्रालयले स्विकार गरेका कारण नगरपालिकाका थप ५ करोड समपुरक अनुदान तर्फ रकम आउने नगरप्रमुख शर्माको भनाई छ । अन्य पालिकाले समयमा नै निवदेन नपठाएका कारण छुट हुन गएको छ । राष्ट्रिय योजना आयोगले पुस २ गते सुचना निकालेर पौष मसान्त भित्र निवेदन पठाउन आब्हान गरेको थियो ।
तीन पालिकालाई मात्रै बिशेष अनुदादन
यस्तै जिल्लाका ४ वटा स्थानीय तहलाई संघीय सरकारले विशेष अनुदान उपलब्ध गराएको छैन । संघीय सरकारले ल्याएको बजेटमा जिल्लाका १ नगरपालिका सहित ३ गाउँपालिकालाई विशेष अनुदान प्राप्त गर्ने छैनन् ।
जिल्लाका ३ स्थानीय तहले प्रस्तावना पेश गरेका आधारमा संघले विशेष अनुदान रकम उपलब्ध गराउने भएको हो । पर्वत जिल्लाका लागि कुल ४ करोड ५५ लाख रुपैंया उपलब्ध गराउने भएका छ । जस मध्ये फलेवास नगरपालिकामा सबैभन्दा बढी २ करोड ३५ लाख बिशेष अनुदान रकम परेको छ। बिशेष अनुदानबाट फलेबासको दलित बस्तीमा एक घर एक धारा निर्माणका लागि २ करोड र जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रममा ३५ लाख रकम खर्च हुनेछ । मोदी गाउँपालिकामा १ करोड रकम मध्ये दलित शसक्तिकरण र पातीचौर–बाजृङ्ग–क्याङ्ग–जलजला पदमार्गमा ५०÷५० लाख रुपैया खर्च हुनेछ । र महाशिला गाउँपालिकामा १ करोड २० लाख रुपैंया उपब्लध गराउनेछ । महाशिलामा बालाकोट स्वास्थ्य चौकी र पाखापानी स्वास्थ्य चौकी भवन निर्माणका लागि ६०÷६० लाख रुपैया खर्च हुनेछ ।
संघीय सरकारले विशेष अनुदान मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नका लागि विशेष अनुदान उपलब्ध गराउने गर्दछ । संघीय सरकारमा विशेष अनुदान कार्यक्रममा पछि परेको वर्ग, समुदायको स्तरोउन्नतीका लागि पहिले नै प्रस्तावना पेश गर्नुपर्ने हुन्छ । त्यो प्रस्ताव पेश नगर्ने स्थानीय तहका लागि संघले बजेट उपलब्ध गराउँदैन ।