देशभर संक्रमितको संख्या १७९८ पुग्यो , सोमबारै थपिए २२६ संक्रमित

काठमाडौं, जेठ १९/नेपालमा सोमबार २२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टि गरेका छन्।
देवकोटाका अनुसार सोमबार थपिएका नयाँ संक्रमितहरुमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन्। नयाँ संक्रमितहरुमा एक वर्षीया बालिकादेखि ६५ वर्षीयसम्म रहेका छन्।
कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक प्रयोगशलामा पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ।
त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ आएको छ। जसमा अधिकांश दैलेखका रहेका छन्।
झापाका २, नवलपरासीका ३, दैलेखका ४१, जुम्लाका १९, सल्यानका १०, सुर्खेतका ५, कपिलवस्तुका ४०, रौतहटका १८, बाँकेका ७, दाङका ९, धनुषाका ७, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५, उदयपुरका १, अछामका १, कैलालीका १४, बैतडीका १, डोटीका १, कञ्चनपुरका १ जनामा कोरोना पुष्टि भएको देवकोटाले जानकारी दिए।
प्रदेश अस्पतालमा पशुपंक्षी अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ।