स्वदेशमा ७ सहित विश्वभर १२८ नेपालीको निधन, कुन देशमा कति?

काठमाडौं, जेठ १८/ कोरोना भाइरसको संक्रमणबाट नेपालमा ७ जनासहित विश्वभर १२८ नेपालीको निधन भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार शनिबार साँझसम्म विश्वका विभिन्न देशमा रहेका नेपालीको संख्या १ सय २१ पुगेको छ।
नेपालमा पनि कोरोनाका कारण शनिबार साँझसम्म ७ नेपालीको निधन भएको छ। योसमेत गर्दा कोरोनाले विश्वभर मृत्यु हुने नेपालीको संख्या १२८ पुगेको हो।
एनआरएनए, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा १९ जना नेपालीको निधन भएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिएका छन्।
त्यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण निधन हुने नेपालीको संख्या १७ पुगेको छ भने साउदी अरबमा ८, बहराइनमा ३, कुवेतमा २, कतारमा १, आयरल्यान्डमा १, टर्कीमा १, नेदरल्यान्डमा १ र स्विडेनमा १ जनाको मृत्यु भएको छ।
संयोजक डा. सापकोटाका अनुसार कोरोनाबाट संक्रमित गैरआवासीय नेपालीको संख्या १४ हजार ४ सय २५ पुगेको छ।
संक्रमितमध्ये ४ हजार ५ सय भन्दा बढी नेपाली भने निकाे भइसकेकाे सापकोटाले जानकारी दिए।
एनआरएनए, स्वास्थ्य समितिका अनुसार कतार, अमेरिका, यूएई, यूके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पोर्तुगल, क्यानाडा, आयरल्यान्ड, माल्दिभ्स, स्पेन, अस्ट्रेलिया, जापान, बेल्जिमय, स्विीजरल्यान्ड, फिनल्यान्ड, जर्मनी, साईप्रस, पन्युजिल्यान्ड, हङकङ, भारत, माल्टा, पोल्यान्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्विडेन, नेदरल्यान्डलगायत ३४ देशमा रहेका गैरआवासीय नेपालीमा कोरोना संक्रमण देखिएको छ। यो साता डनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमण देखिएको हो।