लकडाउन जेठ ३२ सम्म लम्ब्याउने निर्णय, सेना पनि परिचालन हुने

काठमाडौं, १७ जेठ । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले सीमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषदले लकडाउन जेठ ३२ सम्म बढाएको हो ।
भारतमा आन्तरिक उडान खुला गरिसकेको छ । होटलसम्म खोलिसकेको छ । तर नेपालमा भने लकडाउन थप बढाइएको छ । यसअघि लकडाउनको अवधि जेठ २० गतेसम्म थियो ।
सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ । नेपाल ल्याएपछि काठमाडौंका होटलमा १४ दिन क्वारेन्टिनमा राखेर मात्र जिल्ला जिल्लामा पठाउने योजनामा सरकार छ । क्वारेन्टिनमा खाने बस्ने खर्च विदेशबाट आउनेले नै बेहोर्नुपर्नेछ ।