बिहानैदेखि देशैभर माैसम बदली, काठमाडौंसहित अधिकांश स्थानमा हावाहुरी र वर्षाको सम्भावना

काठमाडौं, जेठ १७/ आज पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिम तराई, नवलपरासी, भरतपुरलगायत स्थानमा त अहिले पनि वर्षा भइरहेको छ।
‘काठमाडौं उपत्यकाका पनि केही स्थानमा सिमसिम पानी पर्न सुरु भइसकेको छ,’ शनिबार बिहान उनले भनिन्, ‘आज पूर्वका पनि, मध्यका पनि र पश्चिम क्षेत्रका पनि केही स्थानमा वर्षा हुने सम्भावना छ।’
उनका अनुसार बीचमा केही घण्टा मौसम खुल्ने सम्भावना भए पनि पुनः बदलली भई वर्षा जारी रहने देखिएको छ। ‘आजलाई समग्रमा मौसम खुल्ने देखिन्न,’ उनले भनिन्।
वर्षाका साथमा हावाहुरी/चट्याङकाे पनि उत्तिक सम्भावना रहेकाे माैमसविद्ले बताएका छन्।