गण्डकी प्रदेश सरकारद्धारा पर्वतकी सिडिओ सम्मानित

पर्वत,जेठ १६ । गण्डकी प्रदेश सरकारले पर्वतका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई प्रशंसा पत्र प्रदान गर्दै सम्मानित गरेको छ ।
गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना नियन्त्रण र दैनिक कार्य सञ्चालनमा सिडिओ नेपालले उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेका हुन । पर्वत जिल्लाबाट चितवन जिल्ला प्रशासन कार्यालयमा सहायक प्रजिअको रुपमा सरुवा भएर गएकी नेपालले पर्वत जिल्लामा रहँदा उत्कृष्ट कार्य गरेको भन्दै मुख्यमन्त्री गुरुङले प्रशंसा पत्र प्रदान गरेका छन् ।
मुख्यमन्त्रीको कार्यालयले आयोजना गरेको विदाई कार्यक्रममा मुख्यमन्त्री गुरुङ, आन्तरिक मामिला मन्त्री हरिबहादुर चुमान र प्रदेशका प्रमुख सचिव हरिप्रसाद बस्यालले नेपाललाई प्रशंसा पत्र सहित सम्मान गरेका थिए ।
मुख्यमन्त्री गुरुङले महिला भएर पनि कार्यालय प्रमुखको भूमिका कुशलता पूर्वक निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए । उनले कोरोना नियन्त्रणमा प्रदेश भरीमै अगुवाई पर्वत जिल्लाले गरेको समेत बताए ।
कारोनाको रोकथाम र न्यूनिकरणमा पर्वत जिल्ला प्रदेश भरीकै उत्कृष्ट जिल्लाका रुपमा रहेको छ । कोरोनाका कारण भएको लक डाउनमा खाद्यन्न सामाग्रीको स्टक, विक्री र बजार मूल्यका आधारमा कुश्मा बजार उत्कृष्ट बजारको रुपमा चिनिएको थियो ।
पर्वत जिल्लाको सुरक्षा संयन्त्रको अगुवाई गर्दै नेपालले सरकारले लक डाउन गर्नुपूर्व नै पर्वतमा एक दिन अघि नै लक डाउनको घोषणा गरिएको थियो ।
कोरोना अस्थायी अस्पतालको स्थापना गर्न, होटलहरुमा पुलिङ क्वारेन्टाइनको निर्माण गर्न र नाकाहरुमा कडाई गरी पर्वतलाई सुरक्षित बनाउन जिल्ला कमाण्ड पोष्टको प्रमुखको रुपमा नेपालले अगुवाई गरेकी थिइन ।