दुई हप्तासम्म पनि कोरोना जाँच नभएको भन्दै क्वारेन्टाइनबाटै भागे ३० जना

कपिलवस्तु, १३ जेठ । क्वारेन्टाइनमा बसेको दुई हप्ता बित्दासम्म पनि कोरोना जाँच नभएको भन्दै कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना व्यक्ति भागेका छन् ।
कपिलवस्तु नगरपालिका–४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिंडेका हुन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् ।
क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतको मुम्बईलगायतका शहरबाट फर्केका हुन् । ‘दुई हप्तासम्म बस्दा पनि कोरोनाको जांच नभएपछि आक्रोश पोख्दै क्वारेन्टाइन छाडेर गएका हुन्’ स्थानीय शम्भु सैनीले भने ।
कोरोना संक्रमणको सम्भावित क्षेत्रबाट आएका व्यक्ति क्वारेन्टाइनमा कम्तीमा १४ दिन बस्नुपर्ने सरकारी नियम छ । तर किटको अभावमा दुई हप्ता पूरा हुँदासम्म कोरोना जाँच नहुँदा असन्तुष्टी बढेको छ ।
क्वारेन्टाइनमा बसेका सबैजना एकैपटक निस्केर जाँदा उनीहरुलाई कसैले नरोकेको उनले बताए । कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीप शमशेर जबराले क्वारेन्टाइनमा बसेका व्यक्ति भागेको भन्ने जानकारी आएको र आफूहरु के भएको रहेछ बुझ्ने क्रममा रहेको बताए ।
कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए । उनीहरुलाई दुई दिनपछि घर घरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो । कपिलवस्तुमा झण्डै सात हजार जना क्वारेन्टाइनमा रहेका छन् ।