चीनबाट अब नियमित रेल-सियानबाट सातामा एक पटक काठमाडौंका लागि कार्गो रेल आउने

काठमाडौं, जेठ ११/चीनको सियान सहरबाट अब सातामा एक पटक काठमाडौंका लागि सामान बोकेर कार्गो रेल आउने भएको छ।
पल्लो सान्सी राज्यको राजधानी सियानबाट चाइना रेल्वे एक्प्रेस सियान-काठमाडौं रूटको पहिलो रेल दुई दिनअघि छुटिसकेको छ।
चीनका लागि नेपालका कार्यवाहक राजदूत सुशील लम्सालका अनुसार नेपालका विभिन्न संस्था र व्यापारीले मगाएका सामानहरू बोकेर कार्गो रेल सिगात्सेका लागि गुडेको हो।
सिगात्सेमा रेलबाट ल्याइएको सामान झारेर ट्रकबाट काठमाडौं ल्याइनेछ।
सियानबाट हिँडेको सामान काठमाडौं पुग्न आठ दिन लाग्ने बताइएको छ।
‘यसअघि ग्वान्जाओ र लान्जाओबाट पनि नेपालका सामान बोक्ने रेल सेवा सुरू भएका थिए। तर केही समयपछि बन्द भए। सियानबाटचाहिँ नेपालका लागि सामान बोकेर पहिलो पल्ट रेल गएको छ,’ लम्सालले सेतोपाटीसँग भने,‘यो रूट व्यापारीहरूले नै सुरू गरेका हुन्। तत्काललाई सातामा एक पटक सियानबाट रेल सिगात्से पठाउने उनीहरूको तयारी छ।’
सियान सिल्क रोडको एउटा महत्वपूर्ण बिन्दु हो। अहिले त्यहाबाट मध्य एसिया र पूर्वी युरोपलगायत पाँच रूटमा कार्गो रेलहरू गइरहेका छन्।
‘त्यही सहरबाट दक्षिण एसियाका लागि (अहिलेलाई काठमाडौं) रेल सेवा चलाउने भनेर उनीहरूले सुरू गरेका हुन्,’ कार्यवाहक राजदूत लम्सालले भने,‘नेपाली व्यापारीहरूले पनि यो रूटमा भाडा केही महंगो पर्ने भए पनि छिटो सामान पुग्ने बताएका छन्।’
सियानबाट नेपाली बोर्डरसम्म सामान ल्याउन प्रतिकन्टेनर १६ हजार चिनियाँ युआन भाडा लाग्ने बताइएको छ।
यो रूट दीर्घकालीन हुन्छ कि हुन्न भन्ने कुरा व्यापारीहरूलाई कत्तिको सहज लाग्छ भन्नेमा निर्भर रहेको लम्सालले बताए।
‘सियानदेखि पनि रेल सुरू भएपछि हामीलाई कुन रूट सजिलो र पैसा र समय दुबै हिसाबले सस्तो हुन्छ भन्ने नयाँ विकल्प पनि दिन्छ,’ उनले भने।सेतोपाटीबाट