पर्वतको जलजलामा ‘प्रसुतीको घरमा स्वास्थ्यकर्मी अभियान’ शुरु

पर्वत , जेष्ठ ९/ प्रसुतीको चरणमा प्रवेश गरेका महिलाहरुको स्वास्थ्य जटिलता कम गर्न र आमा र बच्चामा आइपर्ने सम्भावित जोखिमको न्युनीकरण गर्ने उद्देश्यले जलजला गाउँपालिकाले ‘प्रसुतीको घरघरमा स्वास्थ्यकर्मी’ अभियान सञ्चालन गर्ने भएको छ । जलजला गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा विहिवार सम्पन्न जनप्रतिनिधि र स्वास्थ्यकर्मीको संयुक्त बैठकले गाउँपालिकाभित्रका ९ वटै वडामा यो अभियान सञ्चालन गर्ने निर्णय गरेको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो । ‘गर्भावस्थामा हुने जटिलताका कारण बढ्दै गएको मातृ मृत्युदरलाई कम गर्न र महिलाहरुको प्रजनन् अधिकार वारे सचेतना फैलाउन यो अभियान सञ्चालन गर्ने तयारीमा छौं’- अध्यक्ष मल्लले भन्नुभयो ।
अध्यक्ष मल्लले संघीयता भनेकै हरेक नागरिकले घरमै बसेर सेवा प्राप्त गर्ने व्यवस्था भएकोले जलजला गाउँपालिकाले स्वास्थ्य , शिक्षा लगायत विकासका अन्य कार्यक्रम समेत जनताको घरदैलोमै पुगेर वितरण गर्न थालिएको वताउनु भयो । ‘योजनाहरूको छनोट गर्नेदेखि लिएर योजना सम्झौता गर्ने र व्यवसाय दर्तासम्मको काम जनताको घरदैलोमै पुगेर गर्दै आएका छौं, गाउँपालिकाबाट वितरण हुने अन्य सेवाहरूलाई पनि आगामी दिनमा अझै जनमुखी बनाउने तयारी गर्दै छौं । – अध्यक्ष मल्लले भन्नुभयो । स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै अध्यक्ष मल्लले जोखिमपूर्ण घडीमा सेबारत स्वास्थ्यकर्मीहरुलाई गाउँपालिकाबाट विशेष भत्ताको व्यवस्था गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
गाउँपालिकाले आगामी दिनमा दादुरा रूबेला खोप अभियान समेत सञ्चालन गर्न लागेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजु बोहोराले जानकारी दिनुभयो । उहाँले यो खोप अभियान सरकारको राष्ट्रिय अभियान भएपनि देशमा लकडाउनको कारण संचालन गर्न नसकिएको भएपनि अब संचालन हुने दावी गर्नुभयो । संयोजक वोहोराले ‘प्रसुतीको घरघरमा स्वास्थ्यकर्मी’ अभियानमा सबै वडामा अनमी परिचालन गर्ने वताउनु भयो ।
विहिवार सम्पन्न बैठक तथा छलफल कार्यक्रममा जलजला गाउँपालिकाका वडा अध्यक्षहरू र जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डाक्टर भोजराज गौतम लगायतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।