क्वारेन्टाइनबाटै कोरोना संक्रमणको जोखिम

काठमाडौं, ८ जेठ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारसम्म २३ हजार मानिस क्वारेन्टाइनमा बसेका छन् । अधिकांश स्थानीय तहले बनाएका क्वारेन्टाइन नाम मात्रका छन् ।

धेरैजसो विद्यालयमा क्वारेन्टाइन बनाइएको छ । तर, त्यहाँ न त भौतिक पूर्वाधार न सरसफाइ नै । एउटै कोठामा २५ जनासम्म कोचिएर बस्न बाध्य छन् । धेरैले सामाजिक दूरी कायम गरेको पाइँदैन । स्यानिटाइजर, साबुनलगायतको अभाव छ ।

जसले गर्दा एउटामा कोरोना संक्रमण देखिएमा धेरैलाई सर्ने सम्भावना छ । क्वारेन्टाइनमा बस्ने धेरैको स्वास्थ्य परीक्षण गरिएको छैन । औषधिको समेत व्यवस्था छैन । न स्वास्थ्यकर्मी नै हुन्छन् । मापदण्ड विना बनाइएका कतिपय क्वारेन्टाइन कोरोनाको ‘एम्बुस’ बन्न सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।

खेतमै पाल टाँगेर क्वारेन्टाइन
कपिलवस्तुका स्थानीय तहले सात हजार चार सय १५ जना अटाउने क्वारेन्टाइन बनाएका छन् । तर, लकडाउनयता मात्रै आठ हजार ६ सय ४९ जना विदेशबाट आएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । अझ लुकेर आएका हजारभन्दा बढी व्यक्ति सम्पर्कमै नआएको जनाइएको छ । जिल्लामा सात हजार आठजना क्वारेन्टाइनमा छन् ।

जसमध्ये नौ सय २९ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोमा ४३ जनामा कोरोना देखिएको छ । अझै ६ हजारको परीक्षण गर्न बाँकी छ । स्थानीय तहले विद्यालयमा बनाएका क्वारेन्टाइन व्यवस्थित छैनन् । कतिपय स्थानमा खेतमै पाल टाँगेर क्वारेन्टाइन बनाइएको छ । कपिलवस्तु नगरपालिका–४ लौसागाउँमा स्थानीय बासिन्दाले विद्यालय नदिएपछि खेतमा पाल टाँगेर क्वारेन्टाइन बनाइएको हो ।

मापदण्ड विना बनाएका क्वारेन्टाइन कोरोनाको एम्बुस बन्दै गएको स्वास्थ्यकर्मीको भनाइ छ । ‘दूरी छैन, सँगै बाहिर जान्छन्, घुम्छन् । एउटै शौचालय छ,’ यशोधरा गाउँपालिकाका एक स्वास्थ्यकर्मीले भने । एउटै कोठामा १५ देखि २५ जनासम्म राखिएका छन् । क्वारेन्टाइनमा बस्न समस्या भएपछि शुक्रबार राति यशोधरा गाउँपालिका–८ को दुईवटा क्वारेन्टाइनबाट ४५ जना भागेका छन् ।

खाटदेखि तरकारीसम्म घरबाटै
कञ्चनपुरमा पाँच सय ६० बेड क्षमताका क्वारेन्टाइन छन् । तीमध्ये अहिले दुई सय ६३ बेडमा विदेश र काठमाडौंबाट फर्किएका बसिरहेका छन् । बाँकी खाली छन् । प्रायः सबै क्वारेन्टाइन स्कुलमा बनाइएकाले त्यहाँ बस्नेहरू बेन्च जोडेर रात काट्न बाध्य छन्न् । अहिलेसम्म ६ सय ४४ जना क्वारेन्टाइन बसेर घर फर्किएका छन् । ९९ प्रतिशत क्वारेन्टाइन विद्यालयमा राखिएका छन् ।

अधिकांश क्वारेन्टाइनमा बस्ने, खाने, स्वास्थ्य सामग्री र शौचालयलगायतका आधारभूत आवश्यकताको समेत व्यवस्था छैन । लालझाडी गाउँपालिका प्रमुख मदन सेन बडायकले स्थानीय स्रोतले भ्याएसम्म उचित व्यवस्थापन गरिएको बताए । शारदा माविको क्वारेन्टाइनमा बस्दै आएका सुरज रानाले क्वारेन्टाइनमा खाना पकाउने भान्सेले मास्क, पन्जा प्रयोग नगरीकनै खाना पकाउने, दिने भएकाले जोखिम थपिएको बताए ।

एउटै हलमा महिला र पुरुष
महोत्तरीका २१ क्वारेन्टाइनमा पाँच सय ८८ बेड व्यवस्था गरिएको छ । अहिले तीन सय ६७ पुरुष र १० महिला क्वारेन्टाइनमा छन् । कोभिड–१९ का महोत्तरीका स्रोतव्यक्ति गिरेन्द्र झाले अधिकांश क्वारेन्टाइन व्यवस्थित नभएको बताए । बर्दिबास सेवा समितिभित्र एउटै ठूलो हललाई क्वारेन्टाइन बनाइएको छ ।

११ पुरुष र दुई महिलालाई त्यही हलमा राखिएको छ । अन्य कोठा नहुँदा सबैलाई एकैठाउँ राखिएको क्वारेन्टाइनका स्वास्थ्य कर्मचारी सुरेन्द्र चौधरीले बताए । ‘दुवै महिलाका श्रीमान् पनि सँगै क्वारेन्टाइनमा छन् । महिला र पुरुष छुट्टाछुट्टै राख्नुपर्ने भए पनि कोठा नहुँदा बाध्य भएर एउटै हलमा राखेका हौँ,’ उनले भने ।

विद्यालय कोठामा क्वारेन्टाइन, भुइँमै वास
झापाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिले २९ वटा क्वारेन्टाइन बनाएका छन् । यी क्वारेन्टाइनमा आइतबार साँझसम्म पाँच सय ५० जना छन् । मेची अस्पताल र दमक अस्पतालमा आइसोलेसन वार्ड छन् ।

मेची अस्पतालमा दुईजनालाई आइसोलेसनमा राखिएको छ । जिल्लाका अधिकांश स्थानीय तहले विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेका छन् । भारतबाट लुकीछिपी आउनेको चापका कारण दक्षिणी क्षेत्रका स्थानीय तहका क्वारेन्टाइनमा समस्यै–समस्या छ । न राम्रो बेड छ न त खानेपानी नै पर्याप्त छ ।

क्वारेन्टाइनमा बस्नेहरू सबै एकै ठाउँको शौचालय प्रयोग गर्न बाध्य छन् । एउटा कोठामा १० जनासम्म राख्नुपर्दा समस्या आएका कचनकवल गाउँपालिकाका क्वारेन्टाइन व्यवस्थापन संयोजक तथा वडानम्बर ३ का अध्यक्ष विजय राजवंशीले बताए ।

कचनकवल–३ स्थित पथरिया मावि क्वारेन्टाइनमा राखिएका १० जनामा कोरोना संक्रमण पुष्टि भयो । व्यवस्थित क्वारेन्टाइन नहुँदा उनीहरू केही दिन क्वारेन्टाइनमा २३ जनासँग घुलमिल भएका थिए ।

भारतबाट फर्किने बढेपछि राख्नै समस्या
रोजगारीका लागि भारत गएकाहरू फर्किने क्रम बढेपछि रौतहटका स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा चुनौती थपिएको छ । राजपुर नगरपालिकामा मात्र क्वारेन्टाइनमा बस्नेको संख्या एक सय दुई पुगेको छ ।

भारतका विभिन्न स्थानबाट दैनिक ५० जनाको संख्यामा राजपुर आउने क्रम रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले बताए । राजपुरका एक स्थानीयले क्वारेन्टाइनको बसाइ पीडादायी रहेको बताए । कोरोनाका कारणभन्दा खान नपाएरै मरिने हो कि भन्ने चिन्ता लागेको उनले सुनाए ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले राजपुर क्वारेन्टाइनको अवस्थाबारे बुझ्ने बताए । ईशनाथ नगरपालिकामा मेयर सन्तोष मेहताले पछिल्लो समय भारतबाट सात सयजना फर्किएको बताए । नगरपालिकाले पाँचवटा विद्यालयलाई क्वारेन्टाइनका रूपमा प्रयोग गरेको छ । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’