लकडाउनको समयमा म्याग्दीको दग्नाममा लिङ्गो जुधाइ मेला

म्याग्दी ,जेठ ७/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणको रोकथाम गर्न देशैभरी लकडाउन गरिएको छ। भीडभाडमा बढी संक्रमण हुने भएकाले आफन्त वा छिमेकीको मृत्यु हुँदा वा विवाहामा पनि दूरी कायम गरेर निश्चित संख्यामा मात्र मलामी वा जन्ती जान सरकारले आग्रह गरेको छ।
तर, रघुगंगा गाउँपालिका–४, दग्नाममा लकडाउनको बेवास्ता गरी परम्परागतरुपमा लाग्दै आएको लिंगो जुधाई मेला र भूमे पूजा गरिएको छ। दुई गाउँको लिङ्गो जुधाई प्रतियोगिताले यस वर्ष पनि निरन्तरता पाएको छ।
कोरोनाको जोखिमलाई मध्यनजर गरी विगतमा हुने मेलालगायतका कार्यक्रमहरू स्थगित गरिए पनि कोरोना भाइरबाट मृत्यु भएकाको चिरशान्तिको कामनासँगै संक्रमितलाई स्वास्थ्य लाभको कामना गरी भूमे थानमा पूजाआजा गरिएको आयोजकको भनाइ छ।
प्रकृति पूजाका रुपमा चिनिने भूमे देवतालाई खुसी बनाउन प्रतियोगितास्थलमा सामाजिक दूरी कायम गरी मेला र पूजा आयोजना गरिएको आयोजक दग्नाम भूमे पूजा समितिका सदस्य मोहन तिलिजाले बताए।
लिङ्गो जुधाइमा गैरीगाउँ विजयी
लिङ्गो जुधाई प्रतियोगितामा गैरीगाउँ विजयी भएको उनले जानकारी दिए। गतबर्षको विजेता कान्छी गाउँ यसपटक उपविजेता भएको उलने बताए। करिब आधा घण्टा दुई गाउँबीच लिङ्गो जुधाउने प्रतियोगितामा गैरीगाउँ विजय भएको तिलिजाले जानकारी दिए। साविकको दग्नाम गाविसमा स्थानीयले परम्परा अनुसार नै दुई वटा गाउँमा विभाजन गरी सामूहिक पूजाआजा गर्ने गरेका छन्।थाहाखबरबाट