मध्यपहाडी राजमार्ग र गण्डकी प्रदेशको बिकास

–के.बि.मसाल
आजभोली विकास र समृद्धिको कुरा धेरै उठने गर्दछ । वास्तवमा बिकास भनेको परिवर्तन हो । बिकासमा भौतिक पूर्वाधार भएन भने कुनै परिवर्तन हुदैन । विकास भएन भने समृद्धि पनि हुदैन । बिकासका लागि सडक यातायातको महत्वपूर्ण भूमिका रहेको हुन्छ । सडक निर्माणबिना अरु पूर्वाधारको विकास सम्भव हुदैन । त्यसैले सडकलाई पूर्वाधारको पनि पूर्वाधार भन्ने गरिन्छ । बिकास निर्माणको लागि निर्माण सामाग्री र उपकरण पु¥याउन सडकको आवश्यकता पर्दछ ।
पूर्वमा नेपाल–भारत सीमाना पाँचथरको चियाभन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला भएर सुदूरपश्चिमको नेपाल–भारत सीमाना बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ । निर्माण सम्पन्न भएपछि यसको लम्बाई १ हजार ७ सय ६५ किलोमिटर हुनेछ । चियाभन्ज्याङदेखि झुलाघाटसम्म पुग्दा यो राजमार्गले पहाडका ३९ जिल्लामध्ये २४ जिल्ला पार गर्छ । ती जिल्लामध्ये पनि १९ जिल्लाका सदरमुकाम र कतै छउछाउ भएर सडकको रेखाङकन भएको छ । मध्यपहाडी राजमार्गलाई पुष्पलाल लोकमार्ग पनि भनिन्छ । मुलुकको पूर्व पश्चिमसम्म जोडने महेन्द्र राजमार्ग र हुलाकी राजमार्ग पछि को यो लोकमार्ग तेस्रो राजमार्ग हो ।
मध्यपहाडी लोकमार्गले पहाडका २४ जिल्लाका २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोडदा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्ने भएको छ । मध्यपहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक जिल्लालाई जोडछ भने पश्चिममा नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा र बैतडीलाई समटेको छ । मध्यपहाडी लोकमार्गको मध्यविन्दू नुवाकोटको पाती भन्ज्याङलाई बनाइएको छ ।
मध्यपहाडी लोकमार्गको रेखाङन पूर्ण रुपमा नयाँ नभई पहाडी जिल्लामा हाल सञ्चालनमा रहेका विभिन्न राजमार्गका सडक खण्ड समेत लोकमार्गमा जोडिएको छ । जस्तै पोखराको ह्याम्जा देखि बाग्लुङको बुर्तिवाङसम्मको सडक लोकमार्ग बन्नु भन्दा पहिले देखिनै सन्चालनमा थियो । यो बाहेक प्रदेश भित्रमा पर्ने लोकमार्गमा अन्य ठाउमा पनि केहि खण्ड पहिला भएका कच्ची सडक समेत जोडिएका छन् । लोकमार्गले प्रदेश भित्र उत्तर दक्षिण निमार्ण भएका र निर्माणधिन सडकलाई समेत जोडेको छ । बुढीगण्डकी करिडोरको निमांणाधिन सडकले आरुघाटमा जोडेको छ भने गोरखाको लाप्राक, बाह्रपाकको ग्रामणि सडकले पनि लोकमार्गलाई जोडेको छ । त्यसैगरी लुइटेलमा गोरखाको भच्चेक सिरानचोकको ग्रामीण सडक जोडिन्छ ।
लमजुङ जिल्लामा बिचौरको ग्रामणि सडक, राइनासकोटको ग्रामीण सडक, मनाङ जोडिने डूभ्रे–बेसिशहर राजमार्ग मात्र होइन भोर्लेटारसम्मको भूगोलमा अन्य ग्रामीण क्षेत्रका निमार्णाधिन सडक समेत लोकमार्गमा जोडिन्छन् । त्यसैगरी कास्की जिल्लाको भूगोलमा पनि लोकमार्ग भन्दा उत्तर तिरका सबै ग्रामणि सडक जोडिएका छन् । पर्वतमा लोकमार्ग देखि उत्तरका भोक, क्यान, राम्जाचित्रे, आरथर, दुर्लङ र पाङ गाउँहरु का ग्रामीण सडक लोकमार्गमा जोडिएका छन् भने मालढुङगामा कालिगण्डकी करिडोर अर्थात म्यादी–मुस्ताङको सडक पनि जोडिएको छ । लोकमार्गमा बाग्लुङ जिल्लामा मालढुङगाको काठेखोलामा, बाग्लुङ–बेनी सडक, बाग्लुङ नगरपालिकाको ििबभिन्न वाडका सडक, अक्षेते र ताराखोलाको ग्रमीण सडक, दुलियामाटी, नरेठाटी, हरिचौर, मल्मपाण्डखानी,रिघा, खर्वाङ सिसाखानीका ग्रामणि सडक पनि जोडिएका छन् । त्यसैगरी ज्याङना, ग्वालीचौर, भिमगिठे दर्लिङ र ढोरपाटनको सडक समेत जोडिएको छ । बुर्तिवाङ भन्दा अगाडी तमानको ग्रामणि सडक र देविस्थानमा सालझुण्डी–ढोरपाटनको सडक पनि लोकमार्गमा जोडिएपछि प्रदेशको सिमाना पातिहाल्ने पुग्दछ ।
मध्यपहाडी लोकमार्गले ६ वटा प्रदेशलाई छुन्छ । लोकमार्गले चिवाभन्ज्याङ, च्याङ्थापु, आयोम, थर्पु, गणेश चोक, गोपेटार, जोरसाल, तमोर नदी, संक्रान्ति, म्याङलुङ, वसन्तपुर, हिले, लगुवाघाट, भोजपुर, दिक्तेल, हलेसी, हिलेपानी, घुर्मी, खुर्कोट, चौरीखोला, दोलालघाट, बाहुनेपाटी, पातीभन्ज्याङ, सल्यानटार आरुघाट, पालुङटार, कास्कीको अन्नपूर्ण गाउँपालिका, बाग्लुङ, लुकुम, रुकुमकोट, मुसिकोट, चौरजहारी, जगातीपुर, बस्ताडा, दैलेख, दुल्लु जबमुकाध, साइजिउला, बेलखेत, विनायक, साँफेबकर, सिलगडी, डडेलधुरा, पाटन, सतबाँझ, झुलाघाट जोडेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको लोकमार्गको सम्पूर्ण काम आर्थिक वर्ष २०८० सम्ममा सम्पन्न गर्ने सरकारी लक्ष्य थियो तर अहिलेको महामारी र ठेकेदारहरको ढिलासुस्तीले कति समय लम्बिने हो ? त्यो समयले बताउला ।
गण्डकी प्रदेशमा १ महानगरपालिकाका २६ नगरपालिका र ५८ गाउँपालिका गरी जम्मा ८५ स्थानीय तह रहेका छन् । २०६८ सालको जनगणना अनुसार यस प्रदेशको जनसख्या २४,०३,०१६ रहेको छ । भौगोलिक रुपमा गण्डकी प्रदेशले हिमाल, पहाड र तराई गरी तिनै धरातलीय स्वरुपलाई समेटेको छ । गण्डकी प्रदेशको ११ जिल्ला मध्ये मनाङ, तनहू, स्याङजा, पुर्वी नवलपरासी, म्याग्दी र मुस्ताङ जिल्लाले मध्यपहाडी लोकमार्गले छुदैन । तर, गोरखामा ५३, लमजुङमा ४५, कास्कीमा ८२, पर्वतमा २५ र बाग्लुङमा १४० समेत पाचँ जिल्लामा ३४५ किलोमिटर लोकमार्ग पर्दछ । धादीङ र गोरखाको सिमाना आरुघाट अर्थात बुढीगंगा पश्चिम लोकमार्गले गोरखाको तान्द्राङ, ध्याम्पेसाल, मसेल हुदै खहरेमा दरौदी खोलाको पुल तरेपछि चोरकोटे, लुइटेल भएर ठाटीपोखरी हुदै चेपेनदी अर्थात लमजुङ र गोरखाको सिमामा जोडिन्छ ।
चेपेनदीको पश्चिम लोकमार्ग लमजुङ जिल्लाको भूगोल पर्दछ । राइनासटार, पाउदीढिक, सुन्दरबजार, खत्रीठाटी, किरिङचेखोला भएर कोइरालाफाट, थानसिङनेटा, बिमिरेभन्ज्याङ, लामासोती हुदै भोर्लेटार बजार पुगेपछि लमजुङको भूगोल सकिन्छ । भोर्लेटारबाट मादी नदी तरे पछि कास्की जिल्ला सुरु हुन्छ । कास्की सुरु भएपछि रामबजार, फल्याङकोट बेसी, रुधिदोभान, मुर्गीबेसी, थुम्सीकोट, भगवतीटार, इदी तार्काङ भैसे, चिदेपानी, जारकाट,े बसेरी हुदै पोखराको रुपातालचोक, वियपुर, विपिमार्ग, कुँडहर, भद्रकाली, माटेपानी, फुलवारी, भलाम बाटुलेचौर भएर सेती नदी पार भै लोकमार्ग ह्याम्जामा पुगेपछि पोखरा, पर्वत बाग्लुङको सडकमा जोडिन पुग्दछ ।
कास्की र पर्वतको सिमाना नयाँपुल पार गरेपछि डिमुवा हुदै पर्वतको सदरमुकाम भएर बाग्लुङ पर्वतको सिमाना कालिगण्डकी किनारको मालढुङगा लोकमार्गले जोडिन्छ । कालिगण्डकी पार भएपछि बाग्लुङ जिल्ला सुरुभै बाग्लुङ बजार, अक्षेते, विरुको रिजालचोक, गलकोट हटिया बजार, नरेठाटी, खर्वाङ बजार, न्वारा खौलार, खाराबजार, भिमघाट, बुर्तिवाङ बजार भएर पुर्वि रुकुमको सिमाना पातिहाल्ने स्थान देखि लोकमार्ग पाचँ नम्वर प्रदेशमा जोडिन्छ । लोकमार्गमा ठूला नदीहरुमा बुढीगगा, मरस्याङदी, सेती र कालिगण्डकी पर्दछन भने सहायक नदीमा बडिगाड, मोदी, जियपुर, मादी,चेपे र दरौदी पर्दछन् ।
विकासको प्राथमिक पूर्वाधार सडक हो । सडक आफैले केही पनि उत्पादन गर्दैन तर सडकले स्थानीय उत्पादनलाई बाहिर पठाउन र बाहिरका उत्पादन भित्राउन भने सहयोग गरेको छ । यस बाहेक सडक संञ्जाल विस्तार भएपछि मानिसको आवतजावत बढेको छ । ग्रामीण क्षेत्रको आर्थिक क्रियाकलपमा पनि बृद्धि हुदै गएको छ । लोकमार्गको उद्देश्य नै पहाडबाट बसाइँसराइ रोक्ने र पहाडी बजारहरुलाई सहर बनाउनु पनि हो । अहिले लोकमार्गमा पर्ने धेरै ठाउँमा नयाँ सहरहरु बन्दै गएका छन् । आफ्नै गाउँ सहर बन्दै गए पछि पहाडबाट शहरी क्षेत्रमा बसाइँ सर्ने दर पनि घटदै गएको छ । लोकमार्ग बनेपछि सडकको आशपास घरहरु बन्ने क्रम बढेको छ । घर निर्माण गर्ने क्रम बढेसँगै नयाँ बस्तिहरु पनि निर्माण हुन थालेको छ । व्यापार व्यवसाय गर्नेहरु को सख्या बढेको छ । स्थानीय तहका केन्द्रहरु लोकमार्गकै आसपास बनेका छन् । नगरपालिका तथा गाउँपालिकाका केन्द्रले गर्दा चहलपहल बढेको छ ।
मध्यपहाडी लोकमार्गको निर्माणसँगै गण्डकी प्रदेशको पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ । कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर अहिले पनि पश्चिमको पातिहालने देखि लिएर आरुघाटसम्म यात्रा गर्न सकिने भएको छ । लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ । दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन् । लोकमार्गको निर्माणसँगै धेरै ठाउका मानिसहरुका लागि काठमाण्डौं सम्मको सडक दूरी पनि छोटिएको छ । लोकमार्गले प्राकृतिक सुन्दरता, धार्मिक महत्वका स्थल, परम्परागत सांस्कृतिक सम्पदा, पुरातात्विक महत्वका क्षेत्रहरुलाई समेत प्रदेशका जिल्लाहरुमा जोडिने भएको छ । प्रदेशका विभिन्न जातजातिको संस्कृति पनि आदानप्रदान भएको छ ।
लोकमार्ग बनेपछि पहाडी जिल्लाका केही बस्तीहरु ठूला शहरमा परिणत भएका छन् र केहि स्थानमा हुने क्रममा छन् । गोरखाको आरुघाट बजार बिस्तार भएको छ । तान्द्राङ, ध्याम्पेसाल, लुइटेल र ठाटीखोरीले नयाँ शहरको रुप लिन थालेको छ । राइनसटार, पाउदी ढिक पनि ग्रामीण बजार भएको छ । सुन्दर बजार बिस्तार हुदैछ । खत्रीठाटी किरिन्चे र कोइरालाफाटले पनि बजारको स्वरुप लिएको छ । भोर्लेटार बजारको पुरानो स्वरुप सबै परिवर्तन हुदै नयाँ शहर भएको छ । कास्कीको भूगोलमा पर्ने रुधिदोभान, मुर्गीबेसी, थुम्सीकोटलगायतका ठाउँ ग्रामणि बजार भएका छन् । लोकमार्गमा पर्ने पोखरा महानगरपालिका क्षेत्रका बजारहरु पनि पहिलेको भन्दा अहिले सजियका छन् । ह्याम्जा, नाउडाडा र लुम्ले पनि बजार उन्मुख हुदैछन् । कुस्मा र बाग्लुङ बजार लोकमार्गले गर्दा धेरै बिस्तार भएको छ ।
लोकमार्गले बुर्तिवाङ शहर भएको छ । बाग्लुङ सदरमुकामबाट ८५ किलोमिटर टाढा पर्ने बुर्तिवाङ बजार ढोरपाटन नगरपालिकाको केन्द्र समेत हो । बुर्तिबाङ बजार सरकारले निर्माण गर्ने लागेको दश नयाँ सहर मध्येको एक बजार पनि हो । केहि वर्ष अगाडिसम्म साना, मझौला घरहरु रहेको बुर्तिबाङमा अहिले लोकमार्गले गर्दा आधुनिक शहरको स्वरुप लिएको छ । बाग्लुङको निसिखोला, तमानखोला गाउँपालिका र रुकुम र रोल्पा जिल्लाका केहि भाग समेतका बासिन्दाहरु को बुर्तिबाङ ब्यापारी केन्द्र बनेको छ । ढोरपाटन राष्ट्रिय निकुञ्ज जान पनि बुर्तिवाङ भएर जानु पर्ने भएकाले अहिले सुधिायुक्त होटलहरु सन्चालनमा छन् ।
मध्यपहाडी लोकमार्ग आसपास सुविधासम्पन्न होटल र लज सञ्चालनमा आउने क्रम बढदो छ । व्यवसायीले सडक आसपास होटलमा लगानी गर्न थालेका छन् । सडक बनेपछि ग्रामीण क्षेत्रमा व्यावसायिक रुपमा तरकारी खेती, कुखुरापालन र पशुपालनमा मानिसहरु लागेका छन् । गाउँको खेतबारीमा मोटरबाटो पुगेपछि कृषकहरु खेती गर्न उत्साहित भएका छन् । आफूले उत्पादन गरेका वस्तु बिक्री गर्न डोकोमा बोक्नु नपरेपछि किसान हौसिएका छन् । पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रका किसान व्यावसायिक बन्दै गएका छन् । गाउँमा सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र विद्युत् जस्ता भौतिक पूर्वाधारले गर्दा गाउँमा विकास भएको छ । विकासको पहिलो आधार हो सडक । यसले नै जनजनमा आर्थिक विकास ल्याउँछ भन्ने गतिलो उदाहरण लोकमागले देखाएको छ ।
लोकमार्गको केही भागमा स्तरोन्नति र कालोपत्रे गर्ने काम पनि भइरहेको छ । बेला–बेला आउने मुआब्जा वितरण विवाद, निर्माण सामाग्री अभाव,सार्वजनिक खरिद सम्बन्धी ऐन र अन्य विविध कारणले लक्ष्यअनुसार काम हुन सकेको छैन । पोखरा महानगरपालिका भित्र र सुन्दर बजार नगरपालिका क्षेत्रको केहि भागमा लोकमार्गको काम हुन बाकी छ । नेपाल सरकारको आन्तरिक स्रोत साधनबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको लोकमार्गमा हाल सञ्चालनमा रहेका कतिपय साना राजमार्ग र सडक खण्डहरु जोडिएका छन् । सडकको बिकासमा भ्रष्टाचार पनि जोडिएको हुन्छ । सडकको योजनामा जनता सजक हुन पर्दछ । ट्रान्स्परेन्सी इन्टरनेसनलको रिपोर्टअनुसार सबैभन्दा भ्रष्टको सूचीमा राजनीतिक दलहरु परेका छन् ।
कतिपय भ्रष्टाचार नीतिगत भ्रष्टाचार हुन्छन् । नीतिगत भ्रष्टाचार भनेको उच्चतहको भ्रष्टाचार हो । यस्तो भ्रष्टाचार सडक र निर्माणका काममा राजनीतिक उच्च नेतृत्व र प्रशासनिक उच्च नेतृत्वमा हुने गर्दछ । नीतिगत भ्रष्टाचारमा सरकारले पारित गर्ने नीति, नियम, ऐन, कार्यविधि, नियमावली मन्त्रीस्तरीय निर्णयबाट हुने गर्दछ । यस्ता कुराहरु सोझा जनताहरुलाई थाहा हुदैन । नीतिगत भ्रष्टाचार कुनै निश्चित क्षेत्र वा सीमा हुँदैन । बिकास निमार्मणको काममा अब जनता चनाखो बन्न पर्दछ । लोकमार्गको निर्माण हुन बाकी सडकखण्डका साथै पुलहरुको निर्माण प्रक्रिया यथासिघ्र अघि बढाउनु जरुरी छ । गण्डकी प्रदेशका कतिपय महत्वपूर्ण सडक योजना संघीय सरकार वा प्रदेश सरकार कस्ले अघि बढाउने भन्नेमा पटकपटक निर्णय परिवर्तन हुने गरेको छ । प्रदेशभित्र निर्माण हुने सडक वा अन्य विकास आयोजनाको मुख्य सरोकार प्रदेश तथा स्थानीय सरकारको हुने भएकाले सडक र पुल पुलेसा निर्धारित समयभित्र पुरा गर्नेतर्फ ध्यान दिन जरुरी छ ।
(दाङ निवासी लेखक बरिष्ठ पत्रकार हुनुहुन्छ । )