नेपालका ३० जिल्लामा फैलियो कोरोना संक्रमण

काठमाडौं, जेठ ४/ आइतबार साँझ पुन: तीनजना कोरोना संक्रमित थपिएसँगै नेपाल संक्रमितको कुल संख्या २९५ पुगेको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणबाट धनकुटा निवासी ३४ वर्षीया महिला र विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोनाको संक्रमण ३० जिल्लामा फैलिइसकेको छ। आइतबार बिहान बाँकेको नरैनापुर ५ का २५ वर्षका पुरुषको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भएइसकेको छ। त्यसअघि हिजो शनिबार सिन्धुपाल्चोककी एक सुत्केरीको पनि धुलिखेल अस्पताल ल्याइँदै गर्दा कोरोनाकै कारण निधन भएको थियो।
कुल संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रायलको तथ्याकं छ। सबैभन्दा बढी संक्रमित प्रदेश नम्बर २ मा १२१ जना रहेका छन्। बागमती प्रदेश र ५ नम्बर प्रदेशका एक–एक जनाको मृत्यु भइसकेको छ।