भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेका रुपन्देहीका एकै परिवारका नौ जनामा कोरोना पुष्टि

रुपन्देही, जेठ १/ रुपन्देहीको गैडहवा गाउँपालिका २ जोगडाका एकै परिवारका नौ जनामा कोरोना संक्रमण देखिएको छ।
संक्रमित हुनेमा छ पुरुष, एक महिला, चार र १० वर्षीया बालिका छन्। संक्रमित नौ जनाका आफन्त अर्का एक पुरुषमा पनि कोरोना देखिएको छ। उनी भने अलग परिवारका भएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए।
भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साताअघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए।
नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको घिमिरेले बताए। उनीहरु सबैको अवस्था सामान्य छ। गैडहवा गाउँपालिका सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग जोडिएको गाउँपालिका हो।
रुपन्देहीमा बुधबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। थपिका १२ सहित जिल्लामा कोरोना संक्रमितको संख्या २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ।
भैरहवास्थित भीम अस्पतालको आइसोलेशन वार्डका रहेका दुई र गैडहवा गाउँपालिकाको जोगडा मावि क्वारेन्टाइनमा बसेका १० सहित १२ मा कोरोना संक्रमण देखिएको हो।
भीम अस्पतालको आइसोलेशनमा रहेका एक जना उत्तर प्रदेश जिल्ला गोण्डाका भारतीय हुन् भने एक जना विजयनगर नगरपालिका कपिलवस्तुका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले जानकारी दिए।
भारतीय नागरिक प्रतिमाननिमा क्वारेन्टाइनमा बसेका बेला स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना गरिएका छन्। उनी केही दिन पहिला नवलपरासीमा पूजा गर्नका लागि आएका पण्डित भएका स्थानीयले बताएका छन्।