थप १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

काठमाडाैं , बैशाख २९/ नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कपिलवस्तुको यशाेधरा गाउँपालिकाका १८ वर्ष देखि ३४ वर्षका पुरुषमा कोरोना देखिएकाे छ। सबै जनालाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ।
संक्रमितमध्ये हालसम्म ३३ जना उपचारपछि डिस्जार्च भएका छन्। वीरगञ्जमा २७, नेपालगञ्जमा २४, विराटनगरमा १९, रुपन्देहीमा १६ र भरतपुरमा १ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ७३ हजार ५ सय ५५ जनाको कोरोना परीक्षण भएको छ। १६ हजार ८ सय ९८ जनाको पिसिआर र ५६ हजार ६ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयले जनाएको छ।
कोरोनाको आशंकामा काठमाडौं उपत्यकामा ३ र बाहिर १ सय ६१ गरी कुल १ सय ६४ जना आईसोलेसनमा छन्। मुलुकभर १३ हजार ६ सय २५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।