पर्वतको कुश्मा नगरपालिकामा शैक्षिक सुधारका लागि यस्ता छन नयाँ कार्ययोजना

पर्वत, बैशाख २३/नगरभित्रको शैक्षिक गुणस्तर बृद्धिका लागि पर्वतको कुश्मा नगरपालिकाले विभिन्न निर्णयहरु गरेको छ । सोमवार नगरपालिकामा सम्पन्न नगरशिक्षा समितिको वैठकले शिक्षकहरुको स्वेच्छिक अवकास योजना तयार गरेको छ । नगरपालिका अन्तर्गत प्राथमिक तहमा कार्यरत स्थायी शिक्षकहरुको स्वेच्छिक अवकासका लागि रु १ करोड बजेट बिनीयोजन गर्न नगरपालिका वोर्डमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
त्यसैगरी वैठकले शिक्षक दरवन्दी मिलान सम्वन्धी निर्णय पनि गरेको छ । कुश्मा नगरपालिका भित्रका विद्यालयहरुमा रहने, थपिने, र कटौती भएर जाने तहगत शिक्षक दरवन्दी खाका शिक्षा शाखावाट बनाई आगामी नगरशिक्षा समितिको वैठकमा पेश गर्ने निर्णय समेत गरिएको छ । वैठकले शिक्षकहरुको सरुवा सम्वन्धमा समेत महत्वपुर्ण निर्णय गरेको समितिले जनाएको छ । दरवन्दी मिलान कार्यक्रम सम्पन्न नभएसम्म प्राथमिक तहका शिक्षक अन्तर जिल्ला तथा अन्तर पालिकाबाट सरुवा गरी कुश्मा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा नल्याउने तथा अन्तरपालिका प्राथमिक तहको शिक्षक सरुवा रोक्ने निर्णय समेत वैठकले गरेको छ ।
त्यसैगरी वैठकले ससर्त अनुदान अन्तर्गतको रकमबाट विभिन्न विद्यालयलाई कार्यक्रमका लागि वितरण गर्ने निर्णय गरेको छ । वास सहितको शौचालय तीन विद्यालयलाई, विज्ञान प्रयोगशाला स्थतापना गर्न तीन विद्यालय, पुस्तकालय स्थापना गर्न तीन विद्यालय र कम्प्युटर ल्याव स्थापना गर्न तीनवटा विद्यालय छनौट गरेको नगर शिक्षा अधिकृत राजेन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।
वैठकले जिल्लाका तीनवटा एफएम रेडियोवाट एसईई दिने विद्यार्थीहरुका लागि ट्युसन कक्षा प्रशारण गर्ने निर्णय समेत गरेको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि अन्यौलमा परेको एसईई दिने विद्यार्थीहरुको पुर्नताजकीका लागि रेडियोवाट कक्षा संचालन गर्ने निर्णय समेत गरिएको
नगर शिक्षा अधिकृत क्षेत्रीले जानकारी दिनुभयो ।
नगरप्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा सम्पन्न वैठकले गरेका निर्णयहरु पुर्ण रुपमा कार्यान्वयन हुने र यि निर्णयले नगरको शैक्षिक सुधारमा महत्वपुर्ण परिवर्तन आउने प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनीले जानकारी दिनुभयो ।