नेपालगञ्जमा तीन परिवारमा तीन-तीन जना संक्रमित, एकै टोलका १५ जना

नेपालगञ्ज, २३ बैसाख । नेपालगञ्जमा आइतबारसम्म कोरोना संक्रमण देखिएका १६ जना ८ परिवारका व्यक्ति मात्र छन् । त्यसमा पनि १५ जना एकै टोलका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका ८ को जोलाहनपूर्वाका एकै घरका दुईदेखि तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सोही टोलमा बस्ने नेपालगन्जका पूर्वउपप्रमुख समसुद्दिन सिद्धिकीले बताए ।
सोही टोलमा रहेको अन्सारियन मस्जिद सञ्चालक समितिका अध्यक्ष समेत रहेका सिद्धिकीका अनुसार नेपालगञ्जमा भेटिएका संक्रमितमध्ये ३ परिवारका तीन–तीन, दुई परिवारका दुई–दुई जना र तीन परिवारका एक–एक जना छन् ।
पहिलो संक्रमितसँग सम्पर्कमा रहेका अझै ३९ जनाको रिपोर्ट आउन बाँकी छ । सोमबार रातिसम्म रिपोर्ट आउन सक्ने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
निषेधित क्षेत्र घोषणा
यसैबीच, नेपालगञ्जमा कोरोना संक्रमण देखिएपछि सोमबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले नेपालगञ्ज उपमहानगरपालिकालाई मंगलबारदेखि तीन दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
बैठकले मंगलबार बिहान ११ बजेदेखि २५ गते मध्यरातसम्म निषेधित क्षेत्र घोषणा गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।
बैठकले तरकारी मण्डी अर्को सूचना नभएसम्म बन्द गर्ने, पालिका, टोलमा आवतजावत गर्न नपाउने, टोलमा तगारो राख्न नपाउने, त्यस्तो गर्नेलाई पनि कारबाही गर्ने, जातीय सद्भाव भड्काउने कुरा लेखेमा कारबाही गर्ने, कोरोना परीक्षणको दायरा फराकिलो बनाउने निर्णय भएको छ ।
यसैबीच, प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सोमबार नेपालगञ्जका अस्पताल, आइसोलेसन कक्ष र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताललाई तेस्रो चरणको कोरोना अस्पतालको रूपमा विकास गर्न स्थलगत अवलोकन गरेका छन् ।
उनले भेरी अस्पतालको कोरोना प्रयोगशाला, क्यान्सर अस्पतालको आइसोलेसन कक्षको अवलोकन गरेका हुन् । मन्त्री बरालले जिल्लाको सुरक्षा अवस्थाबारे बाँकेका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीबाट जानकारी लिएका थिए ।
मन्त्रीसँगै अनुगमनमा रहेका प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले स्वास्थ्य संस्थामा कुनै किसिमको अभाव हुन नदिने प्रतिबद्धता जनाएको बताइन् । अन्नपूर्ण पोष्टबाट