लकडाउनको बेला पर्वतको महाशिलामा घरघरमै सामाजिक सुरक्षा भत्ता
कोरोनाका बेला गाउँपालिकाले घरमै भत्ता दिदा बृद्धबृद्धा दंग

पर्वत, बैशाख २०/ महाशीला गाउँपालिका–४ पाखापानीस्थित लाम्तुनका ९१ वर्षीय पूर्णबहादुर गुरुङले पछिल्लो चार महिनाको सामाजिक सुरक्षा भत्ता स्वरूप १२ हजार रुपैयाँ आफ्नै घरमा बुझ्न पाए। भत्ता पाउनकै लागि उनलाई तीन घण्टाको पदैल हिँड्नुपर्ने बाध्यता थियो।
सोही ठाउँका ७६ वर्षीय दलवीर गुरुङलाई पनि जनप्रतिनिधि र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरू घरमै पुगेर भत्ता स्वरूप पाउने रकम हस्तान्तरण गरे।
वडा नम्बर ३ बालाकोटका ८६ वर्षीय बिनुदत्त पौडेललाई पनि सामाजिक सुरक्षा भत्ता पाउनकै लागि बैंकसम्म पुग्नको लागि झन्डै डेढ घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ। तर, पछिल्लो चौमासिकको भत्ता उनले पनि घरमा नै पाएका छन्।
कोरोना भाइरसको सम्भावित जोेखिमलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनका बेला स्थानीय सरकारले ज्येष्ठ नागरिकहरूको घरघरमा पुगेर सामाजिक सुरक्षा बाँडेको हो। सामान्य रूपमा हिँड्न सक्नेहरूको हकमा भने घरमा नपुगी पायक पर्ने स्थानमा भेला पारेर सामाजिक दूरी कायम गर्दै भत्ता उपलब्ध गराइए तर हिँड्न नसक्नेको घरमै पुगेर भत्ता वितरण गरेको गाउँपालिका प्रवक्ता जीवन उचै ठकुरीले बताए।
हिँड्न नसक्ने अवस्थामा बैंकसम्म नगई घरघरमा रकम लिन पाउँदा आफूहरुलाई खुसी लागेको ज्येष्ठ नागरिकहरूले बताए। ‘लौरी टेकेर जाँदा तीन घण्टा लाग्छ मलाई, ज्यानै थरथर काम्नी नि यो बेलामा त। अहिले तो के हो भाइरस आको रछ, छोए सर्ने। सर्छ भनेर बाबुहरूले घरमै भत्ता ल्याइदिएछन्,’ लाम्तुनका पूर्णबहादुरले भने, ‘जताततै सुनसान छ, अन्न पानी खाने पैसा सकिएको थियो। यस्ता बेलाँ घरमै भत्ता आउँदा त कति हो कति आनन्द भो नि मलाई।’
बैंकबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदा भिडभाड हुने र ज्येष्ठ नागरिकहरू लामो समय लाइनमा बस्नुपर्ने हुँदा संक्रमणको जोखिम बढ्ने भएकाले कतिपयको भत्ता घरमै पुगेर दिएको तथा कतिपयलाई निश्चित ठाउँमा जम्मा पारेर बाँडिएको प्रवक्ता उचैले जानकारी बताए। राष्ट्रिय वाणिज्य बैंक लुँखुदेउराली शाखाका प्रबन्धक सन्दीप पौडेलले पनि बैंकबाट भत्ता वितरण गर्नुभन्दा घरघरमा पुग्दा वा पायक पर्ने स्थानमा बोलाएर उपलब्ध गराउँदा भाइरस संक्रमणको जोखिम कम हुने बताए। ‘यो बेलामा भिडभाड गरेको राम्रो होइन, बैंकमा जस्ता पनि मान्छे आउँछन्,’ पौडेल भन्छन्, ‘ज्येष्ठ नागरिकहरू संक्रमणको हिसाबले झनै जोखिममा हुनुहुन्छ, यो बेलामा उहाँहरू त झन् अरूको सम्पर्कमा जानै भएन।’
महाशिला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला लगायतको संऋया एक हजार ६५० रहेको छ। उनीहरूको लागि एक चौमासिकमा मात्रै झन्डै एक करोड २० लाख रुपैयाँ खर्च हुने गरेको छ। थाहाखबरमा सञ्जय रेग्मीले समाचार लेखेका छन ।