घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान वडा कार्यालयमा धर्नामा

पोखरा, १५ बैसाख । पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल ।

अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो ५४ परिवारलाई मात्र । केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले नाम फिर्ता पठायो ।

दैनिक ज्यालादारीमा काम गरेर साँझ बिहानको छाक टार्ने सो बस्तीका अधिकांशले राहत पाउन नसकेपछि उनीहरुले पटक–पटक वडाको ध्यानाकर्षण गराए । वडाबाट राहत पाउने आश्वासन दिइए पनि महिना दिन बित्दा समेत राहत नआएपछि उनीहरुले आइतबार वडा कार्यालयमा धर्ना दिए ।

सोही धर्नामा थिए ३९ वर्षीय वीरबहादुर विश्वकर्मा । दैनिक ज्यालादारीबाट कमाएको पैसाले परिवार पाल्दै आएका विश्वकर्माको लकडाउनपछि आम्दानी छैन । पाँच जनाको परिवारमा दुई महिनाको सुत्केरी श्रीमती घरमा छन् । सुत्केरी अवस्थामा आमा र बच्चाका लागि पोसिलो खानेकुरा त परै जाओस् साँझ बिहान दुई छाक खाने अन्न समेत छैन ।

लकडाउनको एक महिना छिमेकीसँग पैंचो मागेर भए पनि सुत्केरी श्रीमती र तीन बालबच्चाको पेट भरेका उनको घरमा अहिले पकाउने केही पनि छैन । घरमा चुलो बाल्ने उपाय नभएपछि शनिबार पौरखी समूहले व्यवस्था गरेको पाँच प्याकेट खाना सबैले बाँडेर छाक टारे ।

साँझ माइली भाउजूले दिएको चामल र छिमेकी दिदी पर्नेले दिएको दालले शनिबार साँझ र आइतबार बिहानको चुलो बलेको तर अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले अन्य टोलवासीसहित वडामा राहतका लागि धर्नामा आएको उनले बताए ।

‘घरमा सुत्केरी श्रीमती छन्, कति दिन अरुसँग चामल र दाल मागेर परिवार पाल्ने ? अहिले सबैको अवस्था मेरो जस्तै हो नि । सरकारले कि हामीलाई काम गर्न जान दिनुप¥यो नत्र परिवार पाल्न राहत चाहियो’, विश्वकर्माको भने ।

नागरिकता नभएकाले नै आफूलाई राहत पाउनबाट वञ्चित गरिएको हुनसक्ने उनको अनुमान छ । वर्षौंदेखि मुस्ताङबाट आएर यहीँ बसोबास गरेको बताउँदै उनले एक पटक बनाएको नागरिकता हराएपछि पुनः अर्को नबनाएको बताए ।

राहत माग्दै कृष्ण टोल, पार्वती टोल र शान्तिनगर टोलका २०० हाराहारीका उनीहरुले बास्तोला थरमा रहेको वडा कार्यालयमा मध्याह्नदेखि धर्ना दिएका थिए । प्रभावित परिवारको भीडभाड बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सुरक्षाकर्मी र वडाका कर्मचारीको पहलमा उनीहरुको नाम सङ्कलन गरिएको थियो । टोल विकास संस्थाका उपाध्यक्ष समेत रहेका कान्छा लामाले टोल विकास संस्थाबाट १९४ कै नामावली वडामा पेश गरिएकामा चैत २७ गते ५४ परिवारलाई राहत वितरण गरिएकामा अन्य परिवारले राहत नपाएको बताए ।

वडाध्यक्ष र सचिवलाई पाँच दिनअघि वडामा आएर राहतका लागि आग्रह गर्दा दुई दिन पर्खिन भने पनि केही सहयोग नपाएपछि टोलवासी वडामा धर्नाका लागि आएको तर वडाध्यक्ष सम्पर्कमा नआएको उनले बताए ।

‘वडाले पक्षपात गरेको छ , एउटै वडामा भए पनि कोहीलाई राति–राति घरमा राहत पु¥याउने, हामीले चाहिँ सरकारको राहत कस्तो हुन्छ कहिल्यै देख्न पनि नपाउने’, लामाले आक्रोश व्यक्त गरे ।

वडाध्यक्ष रामराज लामिछानेले राहतका लागि प्राप्त एक हजार ९४५ आवेदनमध्येबाट पहिलो चरणमा ६८८ परिवारलाई राहत वितरण गरिएको बताउँदै पाउनुपर्ने वास्तविकरुपमा प्रभावित कोही छुटेको भएमा दोस्रो चरणमा दिइने बताए ।

एउटै व्यक्तिले पटक–पटक राहत लिने प्रवृत्ति रहेको भन्दै उनले दोस्रो चरणको राहत वितरण गर्नुअघि पहिलो चरणमा राहत पाएका सबैको नामावली मागिने र छुटेकालाई वितरण गरिने जानकारी दिए ।

‘राहत वितरणलाई प्रभावकारी बनाउन वडासदस्यको नेतृत्वमा सबै टोल विकास संस्थाका अध्यक्षसहितको वितरण समितिमार्फत राहत दिएका हौं । छुटेकालाई केही दाता खोजेर पनि छुट्टै दिएका छौं’, वडाध्यक्ष लामिछानेले भने ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’