लकडाउन एक हप्ता लम्ब्याइने, आज मन्त्रिपरिषद वैठक बस्दै


काठमाडौं, १४ बैसाख । लामो समयदेखिको लकडाउनले नागरिकको जनजीवन कष्टप्रद बन्दै गएको भए पनि सरकारले थप एक साता लकडाउन लम्ब्याउने भएको छ ।
कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकले लकडाउनलाई थप एक हप्ता लम्ब्याउन सिफारिस गरेको छ ।
मुख्य सचिव लोकदर्शन नेतृत्वको कार्यदलले एक हप्ता लकडाउन थप्ने र संक्रमणको अवस्था हेरेर केही ठाउँ खुकुलो गर्न सकिने सुझाव दिएको छ । शनिबार बसेको बैठकले रेग्मीको नेतृत्वको कार्यदललाई लकडाउनको मोडालिटी तयार गर्ने जिम्मेवारी दिएको हो ।
समितिले सुझाव दिए पनि मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्नेछ । भारतमा संक्रमणको अवस्था हेरेर पनि मन्त्रिपरिषद्ले लकडाउन थप गर्न सक्ने जनाइएको छ ।
शनिबार नै कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको छ । आज (आइतबार) बस्ने मन्त्रिपरिषद वैठकले जारी लकडाउन लम्ब्याउनेबारे निर्णय गर्ने भएको छ ।