मापदण्ड बनाएर आन्तरिक उडान खोल्ने तयारी

काठमाडौं, १३ बैसाख । कोरोना संक्रमण जोखिम रोकथामका लागि लकडाउन लम्बिँदै जाँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने भएपछि सरकारले आन्तरिक उडानमा मापदण्ड बनाएर खोल्ने तयारी गरेको छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार कोरोनाको जोखिम कम हुँदै जाँदा लकडाउनलगायत उडानसमेत खुला गर्दा अपनाउनुपर्ने मापदण्डबारे छलफल भइरहेको जानकारी दिए ।
प्राधिकरणले पर्यटन मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वायुसेवा सञ्चालक संघको समन्वयमा मापदण्ड तयार गर्न लागेको छ । आन्तरिक उडान खुला गर्ने मिति भने तय भइसकेको छैन । तैपनि, आन्तरिक उडानलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको पोखरेलले बताए ।
पाइलट, इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरसहितको लाइसेन्स नवीकरणको समय थप गरिएको छ । नियामक निकाय नागरिक उड्डयन प्राधिकरणले मे महिनाभरि नवीकरणको समय थप गरेको हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)सँगको समन्वयमा नवीकरणको समय थप गरिएको प्राधिकरणका महानिर्देशक पोखरेलले जानकारी दिए । लाइसेन्स नवीकरणका लागि पाइलटले वर्षमा दुई पटक सिमुलेटर तालिममा जानुपर्ने व्यवस्था छ । वर्षमा एक पटक मेडिकल लाइसेन्स नवीकरण गर्नुपर्ने प्रावधान छ ।
नेपालमा लाइसेन्स लिएका पाइलटहरू ३ सयभन्दा बढी छन् । इन्जिनियरको संख्या पनि ३ सयभन्दा बढी छ । ‘सबै उड्डयन क्षेत्रमा काम गर्ने जनशक्तिको लाइसेन्स नवीकरणको समय थप गरिएको हो,’ पोखरेलले भने । लकडाउन लम्बिँदै गएमा नवीकरणको समय पनि थप गर्दै जाने पोखरेलले जानकारी दिए ।
पाइलट, एयरहोस्टेज, मेडिकल, तालिम, प्राविधिक इन्जिनियरलगायत विभिन्न विभागका जनशक्तिको लाइसेन्स नवीकरण गर्नका लागि नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, बुद्ध एयर, यती एयरलाइन्स, तारा एयर र समिट एयरलगायत कम्पनीले नवीकरणको समय थप गर्न माग गरेका थिए । नयाँ पत्रिका दैनिकबाट