काठमाडौं परिसरद्धारा उत्कृष्ट कार्य गर्ने प्रहरी पुरस्कृत

काठमाडौं, ८ बैशाख । डीआइजी बढुवा भएका महानगरीय प्रहरी परिसरका निर्वतमान प्रमुख एसएसपी उत्तमराज सुवेदीले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्ने मातहतका बृत्त र प्रभागका प्रहरी अधिकृतहरुलाई पुरस्कृत गरेका छन् ।
समाजमा अमन चयन कायम राख्न उल्लेखनीय भूमिका खेलेको भन्दै सुबेदीले महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदी र प्रहरी प्रभाग साँखुका प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थीलगायतका प्रहरी अधिकृत तथा जवानलाई उत्कृष्ट काम गरे वापत पुरस्कृत गरेका छन् ।
पुरस्कृत हुनेमा प्रहरी नायव उपरीक्षक एक, प्रहरी निरीक्षक ३, प्रहरी नायव निरीक्षक १, प्रहरी सहायक निरीक्षक १, प्रहरी हवल्दार १ र प्रहरी जवान ८ रहेका छन । संगठनले दिएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गरेको र समुदायमा प्रहरीको छवि सकारात्मक ढंगले प्रवाह गरेको पुरस्कृत गरिएको जनाइएको छ । पुरस्कृत हुनेहरु सबैको रेडकमा जनिने बताइएको छ ।
पुरस्कार पाउने अन्यमा परिसर काठमाडौ का निरीक्षक राजन लामा, बृत्त स्वयम्भूका निरीक्षक युबराज चौधरी, नायब निरीक्षकहरु नरेन्द्र बोगटी, धनसिंह ऐरी र गिता थापा, प्रहरी सहायक निरीक्षक सबिन तामाङ , प्रहरी हवल्दार खिमानन्द बडु र जबानहरु हेमराज शर्मा, देबराज गिरी, बम बहादुर लाप्चा, भोला ढकाल, गणेश खड्का , गिता ढुगाना, दिलमाया रुचाल, र दिपेन्द्रराज डिसी छन् ।
साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले लकडाउन पालना गराउन घर दैलोमा जनचेतना जगाउने काम गरेका थिए । उनको नेतृत्वमा प्रहरी टोली लकडाउन पालना गर्नका लागि नमस्कार गर्दै टोल टोलमा पुग्ने गरेको छ ।