पर्वतका किसानलाई लकडाउनभन्दा ठूलो चोट असिनापानी -असिनापानीले बौलाउने बनायो

पर्वत , बैशाख ८ /पर्वतको महाशिला गाउँपालिका ४ पाखापानीका सुन्तला उत्पादक अमृत मल्ललाई आइतबार साँझ परेको असिनाले रातभर निद्रा नलाग्ने बनायो। मल्लको आम्दानीको मुख्य स्रोत सुन्ताला नै हो। उनको बारीमा लगाएका सुन्तला केही दिनअघि परेको असिनापानीले सखाप बनायो।
मसिना दाना लागिसकेको सुन्तलामा निकै क्षति पुग्यो। ‘असिना यस्तोविधि परेको त मैले जानेको थिइनँ, हिउँ परेजस्तै जमिन नै सेताम्मे बनाएर पुरेको थियो,’ उनले दुःख सुनाए। सुन्तला बेचेर जीवन धान्ने उनीजस्ता व्यावसायिक खेती गर्ने किसानलाई असिनापानीले निकै ठूलो चोट पुर्याएको छ।
पाखापानीकै कृष्णबहादुर खत्रीले लगाएका सयौँ सुन्तलाका बोटमा पनि असिनापानीले क्षति पुर्याएको छ। सुन्तलाका मसिना दाना र पूmल असिनाले झारेर भुइँभरि बनाएको छ। अघिल्ला वर्षहरूमा सुन्तलाबाट राम्रो आम्दानी गर्दै आएका उनले यस वर्ष सुन्तलाको व्यापार खासै गर्न पाउने छैनन्। ‘यो समय पनि कस्तो आएको हो, उनले भने, ‘कृषिमा नै निर्भर रहेका किसानलाई योभन्दा चोट के नै हुनुपर्छ र ?’ वडा नम्बर ५ लुँखुदेउरालीमा लगाइएका बेमौसमी तरकारी खेतीसहित मकैबाली पनि असिनाले केहीबेरमै सखाप बनाइदिएको कृषकहरू बताउँछन्।
कृषक शेषकान्त पौडेलका अनुसार निकै बाक्लो गरी झरेको असिनाले काउली, बन्दा, टमाटरलगायत तरकारी बाली नष्ट भएका छन्। सिमी, बोडी, घिरौँला, काँक्राका र फलफूलका झालहरू पूर्ण रूपमा नष्ट भएका छन्। ‘खेतमा लगाइएको अन्नजति सखाप भएका छन्। मान्छे र बस्तुभाउले अब के खाने?,’ पौडेल भन्छन्, ‘बेच्न तयार भएका काउली बन्दाको केही गति छैन, गाउँभरि सबैले लगाएका तरकारी र फलफूल सोत्तर पारेको छ।’
लुँखुदेउरालीकै कृषक मोहन पौडेल पनि करेसाबारीमा रहेका तरकारीदेखि खेत र बारीमा भएका सबै मकै नास भएको बताउँछन्। ‘यही बेलामा कोरोनाको डर भयो बाहिर जान नपाउँदा खेतबारीमा ध्यान दिएर खेतीपाती राम्रो भएको थियो,’ उनले भने, ‘कोरोनाको डरले सताएको बेलामा बाली पनि सखाप भए, कृषकहरू बौलाउने अवस्था आएको छ।’
गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले सोमबार बिहानैबाट कृषकहरूको क्षतिको विवरण संकलन गर्न लागिएको जानकारी दिए। गाउँपालिका ४ पाखापानी र ५ लुँखुदेउरालीमा सबैभन्दा बढी क्षति बनाएको खबर आफूलाई आएको उचैले बताए। वडाध्यक्ष उचैले भने, ‘उहाँहरूलाई पालिकाबाट राहत उपलब्ध गराउने विषयमा त हिजोको आज म आफैं बोलेर भएन, बैठकबाट टुंगो लाग्ला।’ लुँखु बेमौसमी तरकारीको नमुना पकेट क्षेत्र घोषित क्षेत्र हो। ती क्षेत्रमा लगाइएका सबै बेमौसमी तरकारीहरू असिनापानीले सखाप भएका छन्।थाहाखबरबाट