पर्वतका ७ हजार परिवारले पाए २ करोड बराबरको राहत

पर्वत, ७ बैशाख/ लकडाउनको अवधिमा मजदुरी गर्न नपाएका तथा खाद्यान्न खरिद गर्न नसकेका पर्वतका ६ हजार ९ सय ९७ परिवारलाई राहत वितरण गरिएको छ । २ नगरपालिका र ५ गाउँपालिका गरी ७ पालिकाहरूमा रहेका मजदुर, गरिब, अपाङ्गता भएका तथा एकल रूपमा बस्दै आएका परिवारलाई २ करोड २० लाख ५० हजार मूल्य बराबरको राहत वितरण गरिएको विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूले बताएका छन् ।
जिल्ला सदरमुकाम समेत रहेको कुस्मा नगरपालिकामा सबैभन्दा बढी २७ सय ८४ परिवारलाई राहत वितरण गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत हरि पङ्गेनीले बताए । ‘हाम्रो पालिकाले कोषमा ५० लाख विनियोजन गरेको थियो, अन्य संघसंस्था र व्यक्ति तथा कर्मचारीहरूबाट २१ लाख गरी कुल ७१ लाख संकलन भएको छ ।’ उनले भने, ‘यही कोषबाट पहिलो चरणमा राहत वितरण गरिएको छ । १४ वडाहरू रहेको नगरपालिकामा पहिलो चरणमा पेस्की स्वरूप २७ लाख रुपैयाँ निकासा गरिएको छ ।’
फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालका अनुसार कोषमा जम्मा भएको ६२ लाखमध्येबाट २२ लाख मूल्य बराबरको राहत सामग्रीहरू वितरण गरिएको छ । वडाहरूबाट सिफारिस भई आएका ६ सय ७३ परिवारको लागि खाद्यान्न वितरण गरिएको उनले बताए । यस्तै, पैयुँ गाउँपालिकामा पालिकाले रकमान्तर गरेर छुट्ट्याएको २५ लाख बाहेक अरूबाट कोषमा रकम जम्मा भएको छैन । सोही रकमबाट झन्डै २३ लाख मूल्य बराबरको चामल, नुन, तेल लगायतका खाद्यान्न बाँडिएको प्रशासकीय अधिकृत जितबहादुर रानाले जानकारी दिए । उनका अनुसार पैयुँमा ‘क’ वर्गमा परेका ७ सय ८४ र ‘ख’ वर्गमा परेका १ सय ७९ परिवारलाई राहत दिइएको छ ।
महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले भने थप संकट आउन सक्ने बारेमा सचेत बनेर पहिलो चरणमा राहत वितरणमा कडाइ गरिएको बताए । महाशिलाको कोषमा प्रकोप व्यवस्थापनको लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न सङ्कटका कारण चुल्हो बल्ने अवस्था नै नरहेका ३ सय ६३ परिवारलाई प्रति परिवार २ हजार रुपैयाँ बराबरको खाद्यान्न पर्ने गरी कुल ७ लाख २६ हजारको राहत वितरण गरिएको छ । यस्तै, बिहादी गाउँपालिकाले झन्डै ९ लाख बराबरको राहत सामग्री ५ सय ३८ परिवारलाई बाँडिएको छ। खान नपाएर कोही पनि नागरिक मर्नुपर्ने प्रशासकीय अधिकृत ऋषिराम पन्थीको भनाई छ ।
जिल्लाको मोदी गाउँपालिकाले कोषमा जम्मा भएको ३५ लाख रुपैयाँमध्येबाट राहत वितरणको लागि १५ लाख रुपैयाँ खर्च गरेको छ। प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीका अनुसार कुल ६ सय १० परिवारको लागि पहिलो चरणमा सहयोग उपलब्ध गराइएको र समस्या भएमा पुन राहत बाँड्ने बताए । यस्तै, प्रकोप व्यवस्थापन कोषमा झन्डै ३४ लाख रुपैयाँ जम्मा गरेको जलजला गाउँपालिकाले राहत वितरणका लागि १५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । प्रशासकीय अधिकृत अर्जुन शर्माले पालिकामा रहेकामध्ये १ हजार ६६ परिवारलाई राहत बाँडिसकिएको र आवश्यकता अनुसार थप हुँदै जाने बताए ।