काेराेना जितेर २७ दिनपछि अस्पतालबाट घर फर्किइन दोस्रो संक्रमित युवती

काठमाडौं, बैशाख ६/ नेपालको दोस्रो कोराना संक्रमित काठमाडौँकी १९ वर्षीया युवतीको निको भएर घर फर्किएकी छन्।
काठमाडौँको मैतीदेवीकी १९ वर्षीया प्रसिद्धी श्रेष्ठ शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा २७ दिनसम्म उपचार गरी पूर्ण रूपमा स्वस्थ भएर शनिबार घर फर्केकी हुन्।
सबै रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालले शनिबार (आज) उनलाई डिस्चार्ज गरेको हो।
फ्रान्सबाट चैत४ गते कतार हुँदै नेपाल आएकी ती युवतीका चैत १० गते संक्रमण भएको पुष्टि भएको थियो। उनलाई सोही दिनदेखि नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा उपचारका लागि भर्ना गरिएको थियो।
अस्पतालबाट बाहिर निस्कँदै उनले आफू पूर्ण रुपमा निको भएर घर फर्किएको प्रतिक्रिया दिएकी थिइन्।
त्यस्तै टेकु अस्पतालमै उपचाररत यूएईबाट आएका धादिङका अर्का युवाको स्वास्थ्य अवस्था सामान्य रहेको निर्देशक डा सागरराज भण्डारीले जानकारी दिए।
‘उहाँमा पनि कुनै लक्षण छैन। स्वास्थ्य अवस्था नर्मल नै छ’, निर्देशक भण्डारीले नेपालखबरसँग भने। उनले उपचाररत अधिकांश संक्रमितमा कुनै पनि लक्षण नभेटिएको बताए।
यसअघि पहिलाे संक्रमित चीनको वुहानबाट फर्केका युवा निको भएर घर फर्किसकेका छन् भने बागलुङकी ६५ वर्षीया महिलाको रिपोर्ट पनि नेगेटिभ आएको छ।
नेपालमा अहिलेसम्म ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितको संख्या सबैभन्दा बढी प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा रहेको छ।