न्यूयोर्कको अस्पतालले भर्ना लिन नमानेपछि एक नेपालीको कोरोनाबाट कोठामै मृत्यु

अमेरिका, ४ बैसाख । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्लको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विगत ३ हप्तादेखि बिरामी रहेका मल्लको न्यूयोर्क उडसाइडस्थित आफ्नै निवासमा बुधबार बिहान मृत्यु भएको हो ।
कोरोना भाइरसका कारण बिरामी परेका प्रकाश भनेर चिनिने पवनकुमार उपचारका लागि केहीदिन पहिले अस्पताल पुगेका थिए, तर अस्पतालले ठाँउ नभएको भन्दै भर्ना लिन नमानेको जनाइएको छ । मल्लका एक श्रीमती र दुई छोरी नेपालमा छन् । सन् २०१२ मा अमेरिका आएका मल्लले केही समय पहिले न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी चलाउँथे । मल्ल नेपालमा प्रहरी सेवामा थिए ।
पवनकुमारको आफ्नो मान्छे बताउने पद्यमा प्रधानले प्रहरीले आवश्यक सूचना लिएर केही समयपछि मृत्युदर्ता लिन आउनु भनेको जानकारी दिएकी छन् । पद्यमाले भनिन्, ‘पवनभाई र मेरो परिवार केही समय अपार्टमेन्ट सेयरिङ गरेर बस्यौं, साह्रै दुखद भयो, भाइको आत्माले शान्ति पाओस् ।’
२ सातापछि सनाखत
यसैबीच मार्च २७ मा न्यूयोर्कको एल्मष्ट अस्पतालमा मृत्यु भएका एक जना गैरआवासीय नेपालीको बुधबार मात्र सनाखत भएको छ । भाइरस संक्रमणका ज्यान गुमाउने बिष्णु राई भएको पुष्टि भएको छ । राईका आफन्त अमेरिकामा नभएकाले उनको मृत्युबारे न्यूयोर्कमा रहेको नेपाली समुदाय अनविज्ञ थियो ।
राईका बारेमा नेपालबाट सोधखोज सुरु भएपछि एल्मष्ट अस्पतालको डेथ नोटिफिकेशन विभागले मार्च २७ मा निधन भएको पुष्टि गरेको हो । यसैबीच राईको मृत्यु बारेमा न्यूयोर्कमा रहेको वाणिज्य दूतावासले उनका आफन्तले सम्पर्क गरेको जानकारी दिएको छ । कार्यवाहक महावाणिज्यदूत पुष्पराज भटराईले राईका आफन्तले शव नेपाल लैजान चाहेको र त्यसको प्रकृयाका बारेमा काम भइरहेको जानकारी दिए ।
हालसम्म अमेरिकामा ८ जना नेपालीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । भने यहाँ संक्रमितको संख्या समेत २ सय हाराहारीमा रहेको बताइन्छ । मृतकमध्ये ५ जनाको पुष्टि गरिएको छ भने अन्य ३ जनाको रिर्पोट आउन बाँकी रहेको छ । अमेरिकाको न्यूयोर्कमा गैरआवासीय नेपालीहरुको बाक्लो बस्ती रहेको छ । अन्नपूर्ण पोष्टबाट