पछिल्ला दिनमा बागलुङेसँग किन झस्कन्छन् अरू ?

बागलुङ , ०३ बैशाख /‘कसैले घर कहाँ हो भनेर सोध्दा ‘बागलुङ’ भन्दा पनि अरू जिल्लाका मानिस झस्कन पो थालिसकेछन्।’

जागिरको क्रममा पोखरा रहेका दीपक थापाले फेसबुकमा लेखे, ‘लौ जिल्लावासी हो, कोरोनाबाट सजग बनौँ, केहीलाई संक्रमण देखिनासाथ बागलुङ घर भन्न पनि कठिन हुन लाइसक्यो।’ सामान्य संवादमा मात्र होइन, पहिलो कोरोना संक्रमण पुष्टि भएको केही समयमै अत्यावश्यकीय सेवा र यात्रासमेत अवरुद्ध हुने गरी म्याग्दी जिल्लाले त बागलुङेलाई जिल्ला प्रवेशमा निषेध गर्‍यो। प्रवेशमा रोक मात्र लगाएन, दुई जिल्ला जोड्ने रत्नेचौर र कुँडुले सिमानामा ठूला रूख नै ढालेर सडक अवरुद्ध गरायो।

बागलुङमा पहिलो कोरोना संक्रमण पुष्टि भएको केही समयमै म्याग्दी जिल्लाले बागलुङेलाई जिल्ला प्रवेशमा निषेध गर्‍यो। उसले दुई जिल्ला जोड्ने रत्नेचौर र कुँडुले सिमानामा ठूला रूख ढालेर सडक अवरुद्ध गरायो।
बागलुङमा अहिले दुई जना कोरोना संक्रमित छन्। नेपालको पाँचौँ संक्रमितको रूपमा बागलुङ नगरपालिका–४, कुँडुलेकी १९ वर्षीया युवती र छैटाैँ संक्रमितका रूपमा गौँडाकोटकी ६५ वर्षीया महिला भेटिएकी थिइन्। उनीहरू दुवै विदेशमा परिवारिक भेटघाट गरेर सँगै फर्किएका हुन्। युवती आफ्नी आमा र वृद्धा आफ्नी कान्छी छोरी भेट्न बेल्जियम पुगेका थिए। युवती साढे दुई महिना त्यहाँ आमासँगै बसिन् भने प्रौढ महिला कोरोनाको त्रास बढेपछि भ्रमण छोट्याएर दुई सातामै नेपाल फर्किएकी हुन्। बेल्जियमबाट कतार ट्रान्जिट हुँदै उनीहरू काठमाडाँैसम्म मात्रै होइन, काठमाडाँैदेखि यति एयरको विमानबाट पोखरा, पोखरा विमानस्थलबाट जिरो किमीसम्म ट्याक्सी र जिरो किमीबाट सीधा बागलुङ स्कार्पियो गाडीमा आएका थिए। ‘खै, कहाँ, कसरी संक्रमण भयो ? हामीलाई केही थाहा नै भएन,’ संक्रमित युवतीले भनिन्, ‘कोरोनाको हल्ला चाहिँ विदेश हुँदै सुनेकी थिएँ। यहाँ आएको दुई सातापछि कोरोना भएको भनेर समाचार पढेँ, हेरेँ। सुरुमा विश्वासै लागेन, तर पछि घरमै लिन गएपछि पत्याउन करै लाग्यो।’

संक्रमितको अवस्था सामान्य

दुवै संक्रमितको धौलागिरी अञ्चल अस्पताल बागलुङको आइसोलेसन कक्षमा उपचार भइरहेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलका अनुसार दुवैको अवस्था सामान्य छ। ‘युवतीमा कुनै त्यस्तो समस्या छैन,’ डा. पोखरेलले भने, ‘६५ वर्षीया महिलालाई दम र प्रेसरको पुरानो समस्या रहेछ। केही दिनअघि प्रेसर बढेको थियो। औषधि चलाएपछि अहिले सामान्य छ। दुवैको मनोबल उच्च छ।’ उनीहरू एक्लै रहँदा बस्दा हुन सक्ने सकस र सम्भावित समस्यालाई ध्यानमा राखेर मनोचिकित्सिकसमेत लिएर काउन्सिलिङ गर्ने तयारीमा रहेको डा. पोखरेलले बताए।

संक्रमित यसरी बिताउँछन् दिन

१९ वर्षीया संक्रमित युवती बिहान ६ बज्नुअगावै उठ्छिन्। मनतातो पानीबाट उनको दिनको सुरुवात हुन्छ। पानी अलि धेरै पिउन स्वास्थ्यकर्मीको सुझाव छ। त्यसैले पानी तताउने सामानको व्यवस्था अस्पतालले छुट्टै गरिदिएको छ। केही समय मोबाइलमा मन बहलाउँछिन्। ‘आफन्तजन, घरपरिवारसँग कुरा गर्छु,’ उनले भनिन्, ‘आराम गर्‍यो, सुत्यो, उठ्यो, यसै गरी दिन बितिरहेका छन्।’

‘बुबासँग दिनहुँ, घण्टौँ कुराकानी हुन्छ,’ उनले थपिन्, ‘बेल्जियमबाट आमाले उत्तिकै फोन गर्नुहुन्छ। आफन्तजन, देशका ठूलठूला मानिसले पनि फोन गर्न थाल्नुभएको छ। बिहीबार मात्रै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले समेत फोन गरेर उच्च मनोबल राख्दै खानपानमा ध्यान दिन अनुरोध गर्नुभयो।’

६५ वर्षीया महिलाको दिनचर्या पनि उस्तै छ। परिवारका सदस्य, आफन्तसँग दिनमा एकदुई चोटि फोनमा कुरा गर्छिन्। आराम गरेर दिन बिताउँछिन्। ‘सबेरै उठ्छु, भगवान् पुकार्छु, घरपरिवार, आफन्तसँग मोबाइलमा कुरा गर्छु,’ उनले भनिन्, ‘यस्तो बेलामा सबैको साथ, सहयोग र हौसला चाहिने रहेछ। सबै सचेत हुनु राम्रो कुरा हो। तर, भयभीत हुनु हुन्न।’ रोग लागेकाहरूलाई छिःछिः दूरदूर गर्न नहुने उनले बताइन्। ‘संक्रमित निको भएपछि समाजमा राम्ररी बाँच्न सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भनिन्। उनलाई आफूभन्दा परिवारका सदस्यलाई संक्रमण सर्‍यो कि भन्ने पिरलो थियो। परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि खुशी मनले दिन काटिरहेको बताइन्।

‘बलियो आत्मविश्वास भयो भने जस्तै रोग जित्न सकिन्छ’ भन्नेमा दुवै संक्रमित सहमत छन्। दुवैको आत्मविश्वास उस्तै बलियो देखिन्छ। दुवै जना कोरोनाबाट पार पाउनेमा आशावादी छन्।

जिल्लामा यस्तो छ सजगता

दुई जना संक्रमित भएको पुष्टि भएपछि बागलुङ उच्च जोखिममा छ। जिल्लामा सरोकारवाला र स्थानीय तहले पनि वडा तहसम्म सचेतना र कोरोना जोखिम रोक्न नयाँ–नयाँ योजना र पहल गरिरहेका छन्। लकडाउनमा कडाइ छ। गाउँ–गाउँ, नाका–नाकामा आवतजावत रोक लगाएर जरिवानासमेत घोषणा गरिएको छ। गरिब, विपन्न, श्रमिक–मजदुरका लागि जिल्लाका १० स्थानीय तहमै १० लाखदेखि ५० लाख रुपैयाँसम्मको कोष स्थापना गरिएको छ। बाह्य जिल्लाबाट विभिन्न योजना÷आयोजनामा काम गर्न आएर अलपत्र परेका मजदुरको राहतका लागि बागलुङ बजारमा ‘फुड बैंक’ स्थापना गरिएको छ। कोरोना संक्रमितको उपचार केन्द्रको रूपमा धौलागिरी अस्पताललाई विकास गर्न लागिएको डा. पोखरेलले बताए। ‘यहाँ आईसीयू नभएकाले संक्रमितको उपचारका लागि समस्या थियो,’ उनले भने, ‘अहिले तीन वटा भेन्टिलेटर जडान गरिएका छन्। आईसीयू निर्माण कार्य पनि थालनी गरिएको छ।’ चार वटा मात्र आइसोलेसन रहेकोमा बढाएर १६ सम्म पुर्‍याउने तयारी गरिरहेको डा. पोखरेलले बताए। त्यसका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको माग गरिएको उनले बताए।

अहिले जिल्लामा ठूलो समस्या शंकास्पद र संक्रमितलाई अस्पताल, क्वारेन्टिनमा ल्याउनु रहेको बागलुङका प्रहरी प्रमुख नवराज भट्टले बताए। ‘कोरोना रोकथामको यस्तोउस्तो तयारी भनेर फेसबुकमा हाल्ने अनि सस्तो प्रचार गर्ने प्रवृत्ति बढेको छ,’ उनले भने, ‘तर, जिल्लादेखि स्थानीय तहसम्मको तयारी फितलो छ। एकदुई संक्रमित देखिँदा सबै पन्छिएको घटनाले त्यो प्रष्ट हुन्छ। अब हामी रेडक्रस, गाउँपालिका, नगरपालिकाका एम्बुलेन्स चालक कसैको भर पर्दैनौँ। हाम्रै प्रहरी निरीक्षकको कमान्डमा एक टोली बनाएर शंकास्पद तथा उद्धारका लागि परिचालन गर्छौं।’अन्नपुर्णपोष्टबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’