सरकारको आह्वानलाई घरमै बसी परिपालना गर्नुस्: अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नयाँ वर्षको उपलक्ष्यमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । नयाँ वर्ष २०७७ को उपलक्ष्यमा दिनुभएको सन्देशमा उनले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढी प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
लामो राजनीतिक सङ्क्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट जारी भएको नेपालको संविधानबमोजिम तीन तहका सरकारको निर्माण भई भौतिक र आर्थिक विकास गर्दै समृद्ध नेपाल सुखी नेपालीको नारासहित अगाडि बढिरहेको बेला कोरोनाको महामारीले उच्च जोखिममा पारेको अध्यक्ष तिमिल्सिनाले उल्लेख गरेका छन् ।
कोरोनाबाट जोगिन सरकारले जारी गरेको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई घरमै बसी परिपालना गर्नु नै उत्तम उपाय भएको बताउँदै उनले नयाँ वर्षले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपालीलाई सामान्य अवस्थामा फर्कन ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना
नयाँ वर्ष २०७७ सालको शुभ अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु।
अहिले विश्व नै नोवल कोरोना भाइरस (कोभिड-१९)को कारणले आक्रान्त भएको छ। जसको संक्रमण नेपाल र नेपालीहरुमा पनि देखा परेको छ। नयाँ वर्षको यस अवसरमा विश्वभर कोरोना संक्रमणबाट निधन भएका सम्पूर्ण नागरिकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै, यस भाइरसबाट संक्रमित नेपाल र विश्वभरका सम्पूर्ण नागरिकमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
लामो राजनीतिक संक्रमणकालको अन्त्य गर्दै संविधान सभाबाट जारी भएको नेपालको संविधान बमोजिम तीन तहका सरकारको निर्माण भई भौतिक र आर्थिक विकास गर्दै “समृद्ध नेपाल: सुखी नेपाली” को नारासहित अगाडि बढिरहेको हाम्रो देशलाई कोरोनाको महामारीले उच्च जाेखिममा पारेकाे छ। जनता र तीन तहकै सरकारको सजकता र सक्रियताका कारण यो भाइरस नेपालमा तीब्र रुपमा फैलिन पाएको छैन। यद्यपी यसको जोखिमबाट नेपाल मुक्त भने छैन । त्यसकारण यो महामारीबाट जोगिन सरकारले जारी गरेको निर्देशन, आचारसंहिता, सावधानीका उपाय र आह्वानलाई घरमै बसी परिपालना गर्नु नै उत्तम उपाय हो। काेभिड १९ काे संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले लिएका नीति निर्णयहरूलाई अझ बढि प्रभावकारी रुपमा कार्यान्वयन गर्न सफलता प्राप्त हुने विश्वास व्यक्त गर्दछु।
२०७७ सालले यस महामारीलाई अन्त्य गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ र विश्वसमुदायलाई सामान्य अवस्थामा फर्कन उर्जा प्रदान गर्ने विश्वासका साथ नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना।
१ वैशाख, २०७७ ।
गणेशप्रसाद तिमिल्सिना
