वीरगञ्जमा तीन जना भारतीयमा कोरोना भाइरसको संक्रमण
उनीहरुसँगै मस्जिदमा रहेका दुई दर्जन बढीलाई क्वारेन्टाइनमा राखियो

काठमाडौं, चैत ३०/पर्साको वीरगञ्जस्ति नारायाणी अस्पतालको आइसोलेसनमा रहेका तीन जना भारतीय नागरिकलाई कोरोनाभाइरस संक्रमण देखिएको छ । हेटौँडास्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँको टेकुस्थित प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
उत्तर प्रदेशका वासिन्दा भनिएका उनीहरु वीरगञ्ज वार्ड नम्बर-२ स्थित छप्कैया मस्जिदमा १५ दिनअघि देखि बस्दै आएका थिए । उनीहरुमा कोरोनाभाइरसको लक्षण देखिएपछि वडा २ अध्यक्ष अब्बास मियाँले बिहीबार १ बजे स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याएका थिए । मस्जिदमा रहेका २ दर्जन बढीको स्वाब परीक्षणका लागि हेटौँडा पठाइएकोमा ३ जनाको नतिजा पोजेटिभ आएको थियो ।
पहिलो रिपोर्ट पोजेटिभ आउने बित्तिकै प्रहरीले वीरगन्ज २ छपकैयास्थित श्रीराम हल अगाडी मेनरोडमा रहेको मस्जिदबाट दुई दर्जनभन्दा बढी मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई छप्कैया सिद्धार्थ माविको क्वारेन्टाइनमा पठाएको छ । जिलला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले मस्जिदमा बसेका २६ जना मुस्लिम धर्मका प्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो । प्रहरीले नियन्त्रणमा लिएका अधिकांश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् । मस्जिदमा विगत केहि दिनदेखि बस्दै आइरहेको अवस्थामा प्रहरीले शनिबार बेलुका नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।
कोरोना संक्रमण हुन सक्ने आंशकामा उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पर्नेरुले बताए । बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’ का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो ।
२४ जनामध्ये ३ जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले शनिबार बेलुका छपकैयाको मस्जिदमा पुगेका थिए । प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई ई रिक्सामा बसाएर अगाडी पछाडी प्रहरीको संयुक्त निगरानीमा वीरगन्जको सिद्धार्थ माविमा संस्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको हो । उनीहरू मध्ये ३ जनाको रिपोर्टमा कोरोनाभाइरस (कोभिड १९) पोजेभिट देखेपछि शुक्रबार नै तीनजनालाई अस्पतालले मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए ।
‘हेटौँडाको ल्याबमा गरिएको परीक्षण शंकास्पद आएको भन्ने सुनिएपछि वडा अध्यक्षसँगको समन्वयमा ३ जनालाई यहाँ बोलाइएको हो,’ मेसु डा. उपाध्यायले भने, ‘शनिबार बेलुकासम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि कन्फर्म हुन्छ ।’ शनिबार टेकुको प्रयोगशालामा पनि उनीहरुको नतिजा पोजेटिभ नै आएको छ ।
किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नमुनालाई रि–कन्फर्मरेशनका काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ ।
स्थानीयका अनुसार विगत ९ र १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरू मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा भने उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।
नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भने, ‘उनीहरुले दिएको सूचना सहि नहुन पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ ।’ तीनजनालाई आइसोलेशनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अपनाएका छन् ।
कोरोना पोजेटिभको आशंकामा नारायणी अस्पतालको आइसोलेशन वार्डमा रहेका तीनैजनाले मनोमानी गर्न थालेपछि प्रहरीले कडा निगरानी बढाएको छ ।
उनीहरूले मनोमानी गर्न थालेपछि अस्पतालका मेसु, डा. मदन उपाध्यायले स्वंय प्रहरी लगाएर आइसोलेशन वार्डको कोठामा थुनेर बाहिरबाट ताल्चासमेत लगाएका थिए ।
यसअघि भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने आन्तर्राष्ट्रिय तबलीगी जमातमा सहभागि भई नेपाल फर्केका ४६ जनाभन्दा बढीलाई पर्सा र बाराबाट पक्राउ गरी सम्बन्धित जिल्लामा पठाइसकेको छ । विशेष सूचनाको आधारमा पर्साको पर्टेवा सुगौली र जगरनाथपुर गाउँपालिकाको विभिन्न मस्जिदमा बसेका २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।