लक डाउनमा बाग्लुङबाट पैदलै वीरगन्ज – चार मजदुर पर्वतको क्वारेन्टाइनमा

पर्वत, चैत २९ / बाग्लुङको गल्कोट नगरपालिका हटियाबाट वीरगन्ज हिँडेका चार मजदुरलाई पर्वतस्थित क्वारेन्टाइनमा भर्ना गरिएको छ । कोरोना संक्रमणको महामारीसँगै काम गर्ने वातावरण नभएपछि हिँडेरै घर जान लागेका उनीहरूलाई पर्वत सदरमुकाम कुश्मा बजारस्थित क्वारेन्टाइनमा राखिएको हो ।
घर निर्माण कार्यमा गल्कोट क्षेत्रमा रहेका उनीहरू लकडाउनपछि समस्यामा परेका थिए । ठेकेदार दिलीप शाहले वास्ता नगरी अलपत्र छाडेपछि हिँडेरै घर पुग्ने उद्देश्यले बिहीबार बाग्लुङबाट हिँडेको उनीहरूले बताए । कोठामा खानाखर्च पनि नभएपछि छाडेर हिँड्न बाध्य भएको २२ वर्षीय राजु साहले बताए । उनीसँगै पर्साको सखुवाप्रसौनी गाउँपालिकाका १८ वर्षीय कन्हैयाकुमार साह, १६ वर्षीय विजयकुमार साह र १५ वर्षीय अजयकुमार साहलाई पर्वत प्रशासनले क्वारेन्टाइनमा राखेको छ ।
मजदुर राजु साहले आफूहरूलाई कुनै राहतको पनि व्यवस्था नभएको र खानेखर्च नभएकै कारण काम गर्ने स्थान छाडेर हिँडेको बताए । उनीहरूलाई राजमार्गमा अलपत्र देखेपछि पर्वतस्थित इन्सेक प्रतिनिधि सन्तोष थापाले क्वारेन्टाइनमा राख्न सहयोग गरेका हुन् । युवाहरूले तीन दिनदेखि खाना खानसमेत नपाएको बताएपछि तत्काल खाना खुवाउने व्यवस्थासँगै क्वारेन्टाइनमा राख्न सहयोग गरेको थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेले उनीहरूलाई क्वारेन्टाइन स्थलमा नै पुगेर ऱ्यापिट टेस्ट गरी राखिएको बताइन् । उनीहरूलाई कुश्मा बजारको शिवालय माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।