पर्वतमा ६४ जनाको स्वाब संकलन, आज देखि द्रुत परिक्षण

पर्वत/ विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथामका लागि पर्वतमा स्वाब संकलन गरी परीक्षणका लागि पठाउने काम धमाधम भइरहेको छ । हालसम्म कुनै पनि व्यक्तिमा संक्रमण नदेखिए पनि विदेशबाट फर्केका ६४ जनाको स्वाब परीक्षणका लागि पठाइएको हो ।
पर्वत जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिशिर देवकोटाका अनुसार हालसम्म ४६ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने १८ जनाको रिपोर्ट आउन बाँकी छ । आजबाट मात्रै पैंयु गाउँपालिका क्षेत्रबाट १४ जनाको स्वाब परीक्षणका लागि पठाइएको देवकोटाले जानकारी दिए ।
पहिलो चरणको परीक्षण सकिएलगत्तै शनिबारदेखि पर्वत अस्पतालले समुदायस्तरमा नै पुगेर र्यापिड टेस्ट गर्ने तयारी गरेको छ । टेस्टका लागि तीनजना ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई आवश्यक तालिमका लागि बाग्लुङ पठाइएको देवकोटाले जानकारी दिए ।
‘र्यापिड टेस्टका लागि आवश्यक सय थान किट उपलब्ध भइसकेको छ,’ देवकोटाले भने, ‘पहिलो चरणको परीक्षण सकिएलगत्तै हामी समुदायस्तरमा मासटेस्टका लागि पुग्ने तयारीमा छौँ ।’ उनले अन्य वैदेशिक मुलुकबाट भित्रिएका व्यक्तिको स्वाब संकलन भइसकेको र आज देखि फलेबास र कुश्मा नगरपालिकामा पहिलोचरणको र्यापिड टेस्ट गरिने बताए । नयाँपत्रिका