पर्वतको कुस्मामा बिदेशबाट फर्केका ८ जनाको रिर्पोट नेगेटिभ

पर्वत / पर्वतको कुस्मा नगरपालिकामा चैत्र महिना यता बिदेशबाट फर्केका ८ जना ब्यक्तिको कोरोना परिक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
जिल्लामा बिदेशबाट फर्केका सबै मानिसको थ्रोड स्वाबको पोखरा स्थित क्षेत्रिय प्रयोगशालामा भएको परिक्षणमा नेगेटिभ रिर्पोट आएको हो ।
बिदेशबाट फर्केपछि परिवार संगै घुलमिल भएर बसेका कारण जोखिम बढेको निष्कर्ष सहित बिदेशबाट फर्केका सबै ब्यक्तिको कोरोना परिक्षण गर्ने क्रममा आइतबार ८ जना बिदेशबाट फर्केका ब्यक्तिको थ्रोड स्वाब संकलन गरिएको थियो । आठ जनाको रिर्पोट नै नेगेटिभ आएको पर्वत अस्पतालका निमिक्त मेडिकल सुपरिटेण्डेन्ट डा. शिशिर देबकोटाले जानकारी दिनुभयो ।
पहिलो चरणमा भारत बाहेक बाँकी बिश्वबाट फर्केका ब्यक्तिको स्वाब संकलनको काम थालिएको छ । यसका लागि जिल्ला स्वास्थ्य कार्यालय पर्वत र पर्वत अस्पताल पर्वतको संयुक्त टोली गठन भएको छ। सोमबार जलजला गाउँपालिकामा ९ जनाको थ्रोडस्वा संकलन गरेर पोखरा परिक्षणका लागि पठाइएको छ भने मंगलबार फलेबास नगरपालिकामा संकलन गर्ने कार्यक्रम रहेको डा. देशकोटाले जानकारी दिनुभयो ।
जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अनुसार जिल्लामा चैत्र यता पर्वतमा ३ सय १६ जना बिदेशबाट आएका ब्यक्ति रहेका छन । त्यस मध्ये भारत बाहेक अन्यत्र मुलुकहरुबाट आउनेको संख्या १ सय ३ जना रहेको छ भने भारतबाट २ सय १३ जना आएका छन ।
‘