चार्टर्ड फ्लाइटको कमिसन रोक्न निगम नेतृत्वलाई योगेश भट्टराईको निर्देशन

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन नेपाल वायुसेवा निगमका नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ५२ नागरिकलाई स्वदेश लैजानका लागि गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टको रुपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसन बापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगम नेतृत्वलाई निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई एजेन्टलाई दिने भनिएको कमिसन बापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएको विषय स्पष्ट पार्न भनेका हुन् । यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर २७ लाख रुपैयाँभन्दा बढी नोक्सानी गरेको समाचार प्रकाशन भए लगत्तै मन्त्री भट्टराईले तत्कालै निगमका नेतृत्वलाई बोलाएर त्यसबारे स्पष्ट पार्न निर्देशन दिएका थिए ।
अष्ट्रेलियन दूतावासले दिएको काठमाडौं–अष्ट्रेलिया–काठमाडौं उडान बापतको ४ लाख ३९ हजार २ सय डलर र प्रत्येक यात्रुको ट्याक्स समेत गरी ५ करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा जम्मा भइसकेको छ । बोन ट्राभल्सले ‘एजेन्ट’ भएर काम गरे बापत ५ प्रतिशत अर्थात् २७ लाख ४५ हजार ७ सय ७० रुपैयाँ पाइसकेको समाचारहरु प्रकाशित भएको छ । तर, निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अष्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भएको र बोन ट्राभल्सलाई कसिमन बापतको रकम दिइ नसकिएको बताए । चन्दले भने, ‘त्यो निगमकै खातामा छ, बोन ट्राभललाई कमिसनवापत कुनै रकम दिइएको छैन ।’
गत बुधबार निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १ सय डलरका दरले चार्टर वापतको शुल्क लिएको थियो । निगमले २५ घण्टा (काठमाडौं–अष्ट्रेलिया–काठमाडौं) उडानको चार्टर वापतको रकम ५ करोड ४९ लाख १५ हजार ४ सय रुपैयाँ तिरेको हो । यही उडानमा नेपाल वायुसेवा निगमले एजेन्ट घुसाएर अनियमितता गरेको समाचार रातोपाटीले बाहिर ल्याएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले निगममाथि ‘एक्सन’ लिएका हुन् ।