बागलुङ्गको बरेङ्ग क्वारेन्टाइनमा रहेका युवाको कर्नाटकदेखि बरेङसम्मको यात्रा भोगाई-आफ्नै देश बिरानो लाग्यो

बागलुङ/नेपाल–भारत सीमा बन्द हुँदा कैलालीको गौरीफन्टा नाकामा २८ घण्टा रोकिएका ९ सय ९८ जना नेपालीको भीडमा कञ्चपुरका तिनै ४१ वर्षीय पुरुष थिए, जसमा शनिवार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । तिनै संक्रमित पुरुषसँग ४८ घण्टा संगै बसेर नेपाल भित्रिएका थिए बागलुङका ८ युवाहरु पनि । जसको खोजीकार्य शुरु भईसकेको थियो । नेपाल भित्रिएका बागलुङका ८ जनामध्ये बुटवल–पाल्पाहुँदै बरेङ आएका चार बरेङ गाउँपालिकाको सर्वाेदय मावि र बाँकी चार रुपन्देहीको बाँसगडीमा निर्मित क्वारेन्टाइनमा छन् । नेपाल प्रवेश गरेपछि बरेङका चार जना पाल्पाको क्वारेन्टाईनमा रहेको जानकारी पाएपछि गाउँपालिकाले उद्धार गरेर आफ्नै पालिकामा ल्याईएको हो उनीहरुलाई । बाँसगडी र बरेङमा रहेका आठै जनाको स्वास्थ्य सामान्य रहेको अध्यक्ष कृष्ण प्रसाद शर्मा बताउँछन् ।
बरेङको क्वारेन्टाइनमा रहेका युवाहरुले आफुहरु निकै कष्ट सहेर आफ्नै गाउँ आइपुगेको बताएका छन् । उनीहरुमध्ये दुईजना दाजुभाई हुन्भने अर्का दुई बाबुछोरा । तिनै चारमध्येका एक युवाले क्वारेन्टाइनबाट भारतको कर्नाटकदेखि जन्मभूमि बरेङसम्मको यात्राभोगाई बेलिविस्तार
सुरु भए हाम्रा कष्टका दिन
घरको गुजारा चलाउन मुस्किल भएपछि भारत पसेको केही महिनामात्रै भएको थियो । एकाएक कोरोना भाईरस विश्वभरी फैलिएको खबर आयो, भारतमा पनि यसको संक्रमण पुष्टि भएपछि काम बन्द भयो । दक्षिण भारतको एक प्रान्त कर्नाटकमा क्याटरिङको काम गर्थे । हजारौं मान्छे आउने, खाने ठाउँ । त्यस्ता ठाउँहरुमा संक्रमणको त्रास हुनेभएकाले साहुले काम बन्द गरिदिए । कामै बन्द भएपछि घर फर्किनुको विकल्पै थिएन, अनि बाटो लाग्यौं । यो कुरा हो १९ मार्चको । झोला बोकेर बस चढेको चार दिनपछि गौरीफन्टा बोर्डरमा आईयो । बोर्डर त सजिलै कटियो तर, धनगढीमा आएपछि सुरुभए हाम्रा कष्टका दिन । जुन अहिले सम्झदा आङै सिरिङ्ग हुन्छ । नाकामा भारतबाट आउने नेपालीहरुको स्वास्थ्य चेकजाँचको लागि हेल्थडेक्स स्थापना गरिएको छ । त्यहीँ हेल्ड डेक्समा बुझ्दा ‘सरहरु आउँदै हुनुहुन्छ हजुरहरुको चेकजाँच भएपछि मात्रै जान पाईन्छ’ एक जना सरले भन्नुभयो । हामीले राम्रोकै लागि हुँदैछ भनी कुरेर बस्यौं । कुर्दाकुर्दै एक दिन त बितिगयो ! सुरुमा त हामी थोरै थियौं, बिस्तारै बसहरुले मान्छे झार्दै गए । हामी बढ्दै गयौं ।
भोक मेट्न चाउचाउ र पानी
दोस्रो दिनसम्म पनि हामिलाई जाँच गर्ने भनेका डाक्टरहरु आउनुभएन । लामो समय बितिसकेको थियो । भारतबाट फर्किनेहरुको संख्या थपिदै गयो । प्रहरीले दिएको चाउचाउ र पानीको भरमा थियौं हामी । न खानु न सुत्नु, दुई दिन बित्नै लागेपछि हामीले नाराबाजी ग¥यौं । धेरै थियौं के धानोस् पुलिसले । हामीले नाराबाजी सुरु गरेपछि ३५ वटा बसमा सबैलाई आ–आफ्नो जिल्लामा पु¥याउने भन्ने खबर आयो । बस आए तर जाँच गर्ने भनिएका कोही आएनन् । केही समयपछि आएका चिकित्सकहरुले हाम्रो जाँच गरे । त्यसपछि चैत १० गते राती दशबजे धनगढीबाट बस हिँड्यो । सबै जम्मा भएको ठाउँमा को–को र कहाँका थिए भन्ने जानकारी नै भएन ।
सात दिन पाल्पाको क्वारेन्टाइनमा
११ गते साँझ बुटवल आइयो । बुटवल आएपछि बस कता जाने भन्ने अन्यौल सुरु भयो । पाल्पासम्म बस आउने भएकाले पाल्पा राती पुग्यौं । पाल्पा झरिसक्दा लकडाउन शुरु भईसकेको थियो । त्यहाँको प्रशासनले हामी सबैलाई क्वारेन्टाइनमा लग्यो । जनप्रिय हो कि के नाम गरेको बिद्यालयमा हामीलाई राख्यो । त्यहाँको सातदिने बसाई निकै कष्टपूर्ण रहे । हामी पाल्पा रहेको कुरा बरेङ गाउँपालिकाले थाहा पाएछ । हामीले पनि परिवारमार्फत जानकारी गराएका थियौं । गाउँपालिकाले पाल्पाबाट बरेङ ल्याएर यहाँको क्वारेन्टाइनमा राखेको छ ।
क्वारेन्टाइनको बसाई ः घरकै अनुभूती
अहिले सर्वोदय माविको क्वारेन्टाइनमा बसेका छौं । चार जना उतै बुटवल बसे । हामी चार जना यता छौं । मेरो त बिहे भएको छैन्, घरमा बाआमा र बहिनीहरु छन् । भाई मसँगै क्वारेन्टाइनमा छ । हामीसँगै गाउँका अंकल र उहाँको छोरा पनि यहीँ छ । यहाँ आएपछि चिकित्सकहरु बेला–बेलामा आउनुहुन्छ, सोध्नुहुन्छ, खानापानी प्रसस्तै, सुत्ने ठाउँ पनि राम्रो छ । जे दुःख काट्नु थियो पाल्पामै काटियो, न खानाको ठेगान थियो न सोधखोज नै । देशभित्रै गरिएको यस्तो बेवास्ताले आफ्नै देश बिरानो भएजस्तो महशुश हुन्थ्यो । बरेङमा त घरै बसेको जस्तो भएको छ । घरबाट तरकारी, खानेकुराहरु पठाईदिन्छन् । राम्रै लागेको छ । हामी यहाँ बसे’नि पिर छैन । सबै हो नि जोगिनु पर्ने, सुरक्षित त हामी पनि बन्नु छ र अरुलाई पनि बचाउनु छ । हामीसँगै नेपाल पसेको साथीलाई संक्रमण देखियो भन्ने सुनियो । उ कहाँको हामी कहाँको, सम्पर्कमा रहने कुरा त भएन तर एक अर्कामा छुँदा–छुँदै हामीसँग कोरोना आईपुग्यो कि भनेर सचेत बनेर बसेका छौं ।ढोरपाटन दैनिकबाट