पर्वतमा ४ सय २२ जना राख्न सकिने क्वारेन्टाइनमा ७ जना मात्रै

पर्वत/ कोरोना भाइरस (कोभिड १९) को सतर्कताका लागि बनाइएका पर्वतका क्वारेन्टाइनहरूमा ७ जना मात्रै राखिएका छन्।

कोरोना संक्रमणको पूर्व सतर्कताका लागि जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाहरूमा ४ सय २२ जनासम्म राख्न मिल्ने गरी क्वारेन्टाइनहरू बनाइएको भए पनि कुल सात जना मात्र राखिएका हुन्।

बिहादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि पन्थीका अनुसार वडा नं १ बाच्छामा देशभित्रका अन्य जिल्लाबाट आएकाहरू ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने फलेवास नगरपालिकामा रहेका क्वारेन्टाइनमा पनि पर्वत जिल्लाबाहेक अन्य जिल्लाका ३ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको छ।

फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले नगरपालिकाभित्र २ सय १२ जना राख्न सकिने गरी विभिन्न वडाहरूमा क्वारेन्टाइनहरू रहेका र तीनमा ३ जना मात्रै रहेको बताए। जिल्लामा सबैभन्दा बढी क्वारेन्टाइन क्षमता फलेवास नगरपालिकामा रहेको छ। जहाँ ६९ स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा २ सय १२ जनालाई राख्न सकिन्छ। यस्तै महाशिला गाउँपालिकाको एक स्थानमा रहेको क्वारेन्टाइनमा १५ जना, कुस्मा नगरपालिकाको वडा नं ४, ५, ६ र ७ संयुक्त रूपमा निर्माण गरेको क्वारेन्टाइनमा ६० जना राख्न सकिन्छ।

१४ वडा रहेको कुस्मा नगरपालिकाका अन्य वडाहरूमा पनि क्वारेन्टाइन निर्माणको काम चलिरहेको प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले बताए। यसै गरी पैयुँ गाउँपालिकामा १८ जना, जलजला गाउँपालिकाका ३ ठाउँमा रहेका क्वारेन्टाइनमा २८ जना, बिहादी गाउँपालिकाको ६ स्थानहरूमा रहेका क्वारेन्टाइनमा १०/१० जनाका दरले ६० जना र मोदी गाउँपालिकाका ८ स्थानमा बनाइएका क्वारेन्टाइनमा २९ जना व्यक्तिलाई राख्न सक्ने क्षमता रहेको छ।

निर्माण गरिएका क्वारेन्टाइनहरूमा धेरै व्यक्ति राख्न सक्ने क्षमता भएको भए पनि ७ जना मात्रै राखिनुको कारण धेरै व्यक्तिहरू ‘होम क्वारेन्टाइन’ मा रहेका जनप्रतिनिधिको भनाई छ।फलेवास नगरपालिकाकी उपप्रमुख मञ्जु अधिकारीले शंका लागेका व्यक्तिहरू फेला परेमा तुरुन्तै आइसोलेसनमा र बाहिरबाट आएका कोही व्यक्ति भएमा तुरुन्तै क्वारेन्टाइनमा लगिने बताउँदै सबैले ‘होम क्वारेन्टाइन’ को नियम पालना गरिरहेको बताइन्। ‘सबैले होम क्वारेन्टाइनको नियम पालना गर्नुभएको छ। घरमै बसिरहनु भएको छ। तर वडा नं २ थापाठानाको क्वारेन्टाइनमा ३ जना राखिएको छ’ उनले भनिन्, ‘बाहिरबाट आउनेहरूको फलो पनि छैन। हामीहरू सबै सतर्क रहेका कारण पालिका र वडाले बनाएका क्वारेन्टाइनमा राखिहाल्नु परेको छैन।’ धेरै क्षमताका क्वारेन्टाइन निर्माण भएको भए पनि तिनीहरूमा व्यक्तिलाई राख्नुपर्ने अवस्था नआउनु सबैको लागि खुसीको कुरा भएको उनको भनाई छ।

सदरमुकाम कुस्मास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसमा जिल्लका सबै पालिकाहरूको समन्वयमा निर्माण गरिएको क्वारेन्टाइन तथा आइसोलेटेड बेडहरूमा ६ जना रहेकोमा सबै जनाको ‘रिपोर्ट’ नेगेटिभ आएपछि उनीहरूलाई घर फर्काइएको छ। ‘गुप्तेश्वरमा राखिएका ६ जना सबैको स्वाबको रिपोर्ट नेगेटिभ आएपछि उहाँहरू घर फर्किनुभएको छ।’ पर्वत अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शिशिर देवकोटा भने, ‘आइतबार मात्रै होम क्वारेन्टाइनमा रहेका ८ जनाको स्वाब परीक्षणको लागि पोखरा पठाएका छौँ। सोमबारसम्म उहाँहरू सबैको रिपोर्ट आइपुग्छ।’थाहाखबरबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’