कञ्चनपुरका संक्रमित युवासंगै आएका बागलुङका ४ युवा ‘नयाँबजार क्वारेन्टाइनमा’

बागलुङ/कोरोना भाईरसका नवौँ संक्रमित कञ्चनपुरको पेरकोटका ४१ वर्षीय पुरक्षसँगै नेपाल आएका बागलुङका ८ युवामध्ये ४ जना बरेङ गाउँपालिकाले बनाएको ‘नयाँबजार क्वारेन्टाइनमा’ रहेका छन् । उनीहरु मध्ये बाँकी चार जना रुपन्देहीको बास्गडीमा छन् ।
कञ्चलपुरका युवामा शनिवार कोरोनाको संक्रमण पुष्टि भएपछि उनीसँगै ४८ घण्टासम्म सँगै बसेर नेपाल भित्रिएकाहरुको खोजी सुरु भएको थियो । उनीसँगै आएका बागलुङ बरेङ गाउँपालिका स्थायी घर भइ बाँस्गडी रुपन्देही बस्ने चार जना र बरेङ गाउँपालिकामानै बस्ने चार जना रहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
बुटवलको बाटो हुँदै बरेङ आईपुगेका चारै जना युवाहरु एक हप्ता अघि देखिनै बरेङ गाउँपालिकाले बरेङ –३ नयाँबजारमा बनाएको जनता प्राविको क्वारेन्टाईनमा राखेको छ । बास्गडीमा रहेका युवाहरु पनि क्वारेन्टाईनमानै रहेको जानकारी प्राप्त भएको छ, अध्यक्ष शर्माले ढोरपाटनलाई बताए ।
कञ्चनपुरका युवामा संक्रमण देखिएपछि सोधीखोजी गर्दा ४८ घण्टा सिमानामा कुरेर नेपाल आएको क्वारेन्टाइन रहेका युवाहरुले बताएका छन् । ‘उनीहरु त्यहाँ दुई दिन बिताएर नेपाल पसेको भनेका छन्’ अध्यक्ष शर्माले भने, ‘आईतवार बिहानै मैले उनीहरुको यात्राको सबै जानकारी लिने प्रयास गरेको छु ।’ नेपाल आएपछि बागलुङ भित्रिएको जानकारी पाए लगत्तै गाउँपालिकाले क्वारेन्टाईनमा राखेको थियो । बाँसगडी र नयाँबजारमा रहेका आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अध्यक्ष शर्माले बताए ।
क्वारेन्टाइनमा रहेका युवाहरुले आफुहरु निकै दुःखकासाथ आफ्नै गाउँमा आइपुगेको टेलिफोनमा ढोरपाटनलाई वताए । उनीहरु रोजगारीका लागि भारतको उत्तराखण्ड थिए । त्यहाँ पनि कोरोनाको संक्रमण बढ्दै गएपछि आफ्नै ठाउँमा जानेर भनेर नेपाल आएको उनीहरुले वताए ।ढोरपाटन दैनिकबाट