नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा,क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ, सतर्क रहौं : डा. देवकोटा


काठमाडौं । सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको घोषणा गरेको छ । त्यसैले लकडाउनलाई कडाइका साथ पालना गर्न र घरभित्रै बसिदिएर कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा सघाउन सरकारले सबैलाई पुनः आग्रह गरेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी कैलाली र कञ्चनपुरका थप तीन जनामा कोरोना संक्रमण भएको जानकारी दिँदै नेपालमा कुल संक्रमितको संख्या ९ पुगेको जानकारी दिएको छ । पछिल्लो पटक जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ४१ र २१ वर्षका दुई जना पुरुष तथा ३४ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ । ४१ र २१ वर्षका पुरुषहरु भारतबाट आएका हुन् भने ३४ वर्षीया महिला कैलालीस्थित घरमै थिइन् ।

उनीहरुलाई आ–आफ्ना जिल्लाको क्वारेन्टाइनमा बसेको बेला नमूना लिएर परीक्षण गर्दा तीनै जनामा संक्रमण देखिएको हो । उनीहरु सबैको अहिले सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

कैलालीकी ३४ वर्षीया महिला अर्का एक युवककी भाउजू हुन् । उनको ट्राभल हिस्ट्री (यात्रा विवरण) छैन । यसअघि नेपालमा विदेशबाट आएका व्यक्तिहरुमा मात्र कोरोना देखिएको थियो । तर, कैलालीमा भने बाहिरबाट आएका व्यक्तिबाट घरमै रहेको अर्को व्यक्तिलाई सरेको पाइएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस सरेको नेपालमा पहिलो घटना हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले भने, ‘संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सरेको पहिलो केस हो नेपालमा । त्यसैले हामी दोस्रो चरणमा प्रवेश गरेका छौं । यसलाई हामी लोकल ट्रान्समिसन भन्छौं ।’ विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को प्रोटोकलअनुसार ‘लोकल ट्रान्समिसन’लाई कोरोना संक्रमणको दोस्रो चरण भनिन्छ ।

दोस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ हो । ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो । त्यसैले अझै बढी सतर्कता अपनाउनुपर्ने डा. देवकोटा बताउँछन् । ‘यसले पनि थप पुष्ट्याइँ के गर्छ भन्दाखेरि क्वारेन्टाइनमा कति अनिवार्य रुपमा र कति सावधानीपूर्वक बस्नुपर्छ भन्ने कुरा देखाउँछ,’ उनले भने, ‘संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन नदिनका लागि जो विदेशबाट आउनु भएको छ, उहाँहरु सबैले अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने र सावधानीका सबै उपायहरु अवलम्बन गर्नुपर्ने हुन्छ ।’

डा. देवकोटाले नेपालमा कोरोना संक्रमण फैलिने थप जोखिम बढेपछि क्वारेन्टाइनमा बस्ने अवधि बढाउनुपर्ने देखिएको बताए । ‘अहिले १४ दिन क्रस गर्दाखेरि पनि पुनः परीक्षण गर्दा केहीलाई पोजेटिभ देखिएको छ । त्यो हिसाबले हेर्दाखेरि क्वारेन्टाइनको अवधि बढ्ने देखिन्छ । यहाँहरु क्वारेन्टाइनमै बसिदिनुहोला ।’

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’