पर्वतमा क्वारेन्टाईनमा राख्न मुस्किल,३६१ शैयाको क्वारेन्टाईनमा ६ जना मात्रै

पर्वत/ कोभिड–१९ को सम्भावित जोखिम रोक्न विदेश वा लामो यात्राबाट आएकाहरूलाई दुई साता छुट्टै राख्नलाई पर्वतमा बनाइएका क्वारेन्टाइन कक्ष रित्तै छन् ।
जिल्ला प्रशासन र स्थानीय तहका अनुसार चैत पहिलो सातायता कोभिड–१९ ले संक्रमित देशहरूबाट मात्रै फर्किएकाहरूको संख्या साढे दुई सयभन्दा बढी छ। अन्य जिल्लाबाट आउनेहरूको संख्या यकिन छैन।
जोखिमयुक्त मुलुक र लामो यात्राबाट गाउँ आएकालाई अलग्गै राख्न सबैजसो स्थानीय तहले क्वारेन्टाइन कक्ष बनाएका छन्। जिल्लामा हालसम्म ३ सय ६१ शय्याका क्वारेन्टाइन बनिसकेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुवेदीका अनुसार कुश्मा नगरपालिकाले सबैभन्दा पहिला ३१ शय्याको क्वारेन्टाइन निर्माण गरेको थियो। लगत्तै अन्य स्थानीय तहले क्वारेन्टाइन बनाए। फलेबास नगरपालिकाले सबैभन्दा धेरै दुई सय १२ शय्याको क्वारेन्टाइन बनाएको छ।
जलजलामा २८, मोदी र महाशिलामा छ–छ, पैयुँमा १८ र बिहादीमा ६० शय्याको क्वारेन्टाइन निर्माण गरिएको छ। जिल्लाभर क्वारेन्टाइनमा बस्नेहरूको संख्या भने जम्मा छ मात्रै छ।
कुश्माका नगरप्रमुख रामचन्द्र जोशीले क्वारेन्टाइनमा बसेपछि मिडियामा समाचार आउँछ भनेर कोही नमानेको बताए। ‘कतिले त क्वारेन्टाइनमा जानेबित्तिकै कोरोना हुने डरसमेत फैल्याएका छन्। हामीले चार जना राखेको थियौं। ती पनि आज (बुधबार) घर जाँदै छन्।’ उनका अनुसार नगरपालिकामा बढी संक्रमण भएका देशहरूबाट फर्किएकाहरूको संख्या ३६ छ।
दुई सय १२ शय्याको क्वारेन्टाइन बनाइएको फलेबासमा अहिलेसम्म कोही बसेका छैनन्। त्यहाँ ६७ जना संक्रमण बढी फैलिएको देशबाट फर्किएका छन्। ‘लकडाउन भएयता कोही बाहिरबाट आएका छैनन्। त्यसअघि फर्किएका सबैको स्वास्थ्य अवस्था ठीक छ,’ नगरप्रमुख पदमपाणी शर्माले भने, ‘अब आउनेलाई राख्छौं।’
महाशिलाका प्रशासकीय अधिकृत बुद्धिराम शर्माले क्वारेन्टाइनको अवधारणा ढिला गरी आएकाले कसैलाई राख्न नसकिएको बताए।
सरकारले क्वारेन्टाइन सञ्चालनको मापदण्ड सहितको निर्देशिका जारी गरेपछि कतिपय स्थानीय तहमा मापदण्डविपरीत भएको भन्दै स्थगन गर्न प्रशासनले निर्देशन दिएको छ। अनुगमनका क्रममा जलजलाका छ स्वास्थ्य चौकीमा बनेका १२ शय्याको क्वारेन्टाइन कक्षको मापदण्ड नपुगेको भन्दै स्थगन गरिएको छ। ‘हामी अनुगमनकै क्रममा छौं,’ प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भनिन्, ‘निर्देशिका बमोजिमको मापदण्ड नपुगेकालाई रोक्छौं।’
कुश्मामा सञ्चालित २० शय्याको आइसोलेसन अस्पतालको व्यवस्थापना सबै पालिकाको सहयोगमा र स्थानीय तहमा सञ्चालित क्वारेन्टाइन कक्षको व्यवस्थापन तथा सञ्चालन सम्बन्धित स्थानीय तहले गर्ने निर्णय भएको छ।कान्तिपुर दैनिकका अनलाईन संस्करणबाट