कोरोना कहर मुलुककै अग्ला झोलुङ्गे पुलमा ताल्चा

पर्वत/ सयौंको भीड हुने पर्वतका अग्ला पुलहरू यति बेला सुनसान छन् । कुश्मा आसपासका अग्ला र ‘सिंगल स्पान’ का पुलमा बाहिरबाट आउने मात्रै होइन, स्थानीयको आउजाउसमेत रोकिएको छ ।
पर्वतको कुश्मा–बलेवा जोड्ने पुलमा लगाइएको तारबार र साँचो । तस्बिर: अगन्धर तिवारी/कान्तिपुर ।
कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि कुश्मा र बागलुङ जोड्ने पुलमा बार लगाइएको छ । कुश्मा–बलेवा पुलमा आउजाउ नरोकिएपछि चार दिनयता ताल्चा लगाइएको स्थानीय राजु पौडेलले बताए । ‘कुश्मा हुँदै बाहिरबाट गाउँ भित्रिनेलाई रोक्न बलेवावासीले प्रशासनको सहयोगमा पुलमा बार लगाएर ताल्चा लगाएका हुन्,’ उनले भने ।
पुलमा आउजाउ गर्नेको रेखदेख गर्न छ जना सशस्त्र प्रहरी तैनाथ छन् । चाबी उनीहरूसँगै हुन्छ । अत्यावश्यक पर्नेलाई मात्रै साँचो खोलिदिने गरिएको छ ।
पर्वत प्रशासनले भने कहीँकतै बार लगाउन निर्देशन नदिएको जनाएको छ । ‘पुलमा बार लगाउन र बाटो रोक्न हामीले भनेका छैनौं,’ प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले भनिन्, ‘त्यस्तो गर्नु पनि हुँदैन ।’
अत्यावश्यक काम पर्दा तथा बिरामी, सुत्केरी लगायतलाई उद्धार गर्नुपर्दा बाधा पुग्ने जनाउँदै बाटोमा अवरोध नगर्न प्रशासनले सबैलाई आग्रह गरेको छ ।कान्तिपुर दैनिकको अनलाईन संस्करणबाट