संक्रमितको उपचारमा ‘चिनियाँ मोडल’ अपनाउने तयारी

काठमाडौं । सरकारले कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको छ ।

संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आइतबार त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन ‘लकडाउन’ गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।

दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रूपमा अपनाइरहेका छन् । चीनबारे जानकार तथा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उपकार्यकारी निर्देशक रूपक सापकोटाका अनुसार वुहानमा संक्रमण देखापरेपछि चीनले सबैलाई नै कर्फ्यु जस्तै अवस्था बनाएर खानेपानी, खानेकुरालगायत आवश्यक सामग्री उपलब्ध गराएको थियो ।

‘चीनमा अनलाइनबाट खानाको अर्डर गर्न सहज छ । राज्यले मानिसलाई घरमै राखेर सेना, प्रहरी लगायतमार्फत आवश्यक सामान उपलब्ध गरायो,’ उनले भने, ‘सबैजसो घरमा गएर परीक्षण गरियो ।

पोजेटिभ देखिएका र निमोनिया लागेकालाई अस्पतालमा लगेर उपचार गरियो ।’
चीनको यो मोडललाई सुरुमा पश्चिमाहरूले मानव अधिकार हनन तथा अमानवीय व्यवहार भनी प्रतिक्रिया दिए । तर यतिखेर सबैजसो मुलुकले यही मोडल कार्यान्वयन गर्न लागिराखेका छन् ।

दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले चीनको जस्तो लकडाउन गरेनन् । ‘उनीहरूले प्रविधिलाई साथमा लिएर अलि डेमोक्रेटिक हिसाबले गरेका काम छन् । दक्षिण कोरियाले ठूलो संख्यामा क्याम्प खडा गरेर निमोनिया र कोभिड–१९ का लक्षण देखा परेकालाई परीक्षण गर्‍यो र उपचार गर्‍यो,’ सापकोटाले भने ।

‘उनीहरूले लकडाउन कम समय गरे । चीनले चाहिँ यातायातलगायत सबै बन्द गराएको थियो,’ उनले भने । सापकोटा चिनियाँ मोडल एकद्वार प्रणालीअनुसार हुने भएकाले संक्रमण रोकथाम र नियन्त्रणमा अलि बढी प्रभावकारी हुने बताउँछन् ।

‘राज्यले नै सेवा सुविधा प्रवाह गर्दा प्रभावकारी हुने देखियो । यो मोडल प्रभावकारी देखियो । सुरुमै अस्पताल भर्ना हुँदा ठीक भएको संख्या पनि ठूलो छ । तर इटालीको अवस्था विकराल छ,’ उनले भने । सापकोटाका अनुसार चिनियाँ मोडल जस्तै गर्न पूर्वाधारको तयारी र परीक्षण किट्सबाट बढी परीक्षण गर्नुपर्छ । चीनले छोटो समयमा अस्पताल पनि निर्माण गरेको थियो ।

चिनियाँ मोडललाई पछ्याउन नेपाल र चीन सरकारको चिकित्सक टोलीबीच दुई दिनअघि भिडियो कन्फरेन्स पनि भएको थियो । कन्फरेन्समा चिनियाँ चिकित्सक टोलीले चीनमा कोभिड–१९ रोकथाम र नियन्त्रणमा आफूहरूले हासिल गरेको सफलताबारे जानकारी दिएका थिए ।

कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न कसरी सकिन्छ भनेर नेपाल सरकारले चिनियाँ सरकारलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको एक सचिवले जानकारी दिए । ‘निकट भविष्यमा चीनबाट एक टोली आउने र उसले हामीलाई प्रशिक्षण दिने आशा गरेका छौं,’ ती सचिवले भने ।

चीन सरकारले कुनै पनि अवस्थामा सहयोग गर्न तयार रहेको पत्र पठाएको छ । नेपालस्थित चिनियाँ दूतावासका एक अधिकारीका अनुसार चीन नेपाललाई मेडिकल सामग्रीसहित कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सहयोग गर्न तयार छ । ‘नेपाललाई आवश्यक पर्दा दैनिक उपयोगका सामग्री पनि निर्यात गर्न तयार छौं,’ ती अधिकारीले भने । कान्तिपुर दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’