कोरोना प्रभाब -सबैको चाँसो भारतसँगको नाका के हुन्छ ?

काठमाडौं । भारतसँगको सीमानाकाबाट दैनिक हजारौं मानिसको आवत–जावत चलिरहेको छ । भारतबाट नेपाल भित्रिने बढी छन् । तर, नाकामा हेल्थ डेस्क प्रभावकारी छैनन् ।

संक्रमण फैलिसकेको भारतबाट भित्रिनेको नाकामा स्वास्थ्य जाँच प्रभावकारी नहुँदा नेपालमा जोखिम बढेको छ ।

नेपालले भारतसँग जोडिएको करिब १८ सय किलोमिटर सीमानाकामा आवत–जावत थप नियन्त्रित गर्ने र भारतसँग समन्वय गरेर नाका बन्द गर्नेसमेतको गृहकार्य गरेको छ ।

तत्काललाई भने आवत–जावतलाई सीमित नाकामा सीमित राख्न लागिएको छ । शनिबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना नियन्त्रण समन्वय समितको बैठकमा यसबारे छलफल भएको थियो ।

बैठकपछि अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा. युवराज खतिवडाले भने, ‘भारतसँग हाम्रा सन्धि–सम्झौताका कारण एकपक्षीय रूपमा सीमा बन्द गर्न गाह्रो छ । हामी भारतसँग कूटनीतिक रूपमा समन्वय गरिरहेका छौँ ।

सीमित नाका प्रयोग गर्ने गरी नाका तोक्ने गृहकार्य गर्दै छौँ । खुला र बस्ती तथा घर जोडिएको सीमा भएका कारण पूर्ण रूपमा घोषित बन्द गर्न नसकिने तर स्वास्थ्य सुविधा स्तरोन्नति गर्दै र चरणबद्ध रूपमा नियन्त्रणका उपायसहित सीमा बन्द गर्ने तयारीबारे छलफल भएको थियो ।’

प्रधानमन्त्री केपी ओलीले शुक्रबार गरेको सम्बोधनमा कडाइपूर्वक चेकजाँच गर्ने उल्लेख गरेका थिए । ‘सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्यजाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइनेछ ।

यस सम्बन्धमा छिमेकी मित्र राष्ट्रहरूसँग आवश्यक समन्वय गरिनेछ,’ ओलीको भनाइ थियो । यसबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकरबीच शुक्रबार छलफल भएको थियो ।

भारतले रानीगन्ज, रक्सौल, सुनौली र वनवासा नाकाबाट मात्रै आवत–जावत गर्न दिने सार्वजनिक गरेको थियो । नेपालले रुपेढिया र जोगबनी नाकालाई पनि आवत–जावत गर्न दिने गरी बाँकी सीमा बन्द गर्न सकिने धारणा भारतसँग राखेको थियो । यसबारे चाँडै निर्णय लिइने अर्थमन्त्री डा. खतिवडाले बताए ।

भारतसँग सीमानाकाबाट नेपाल आउनेको स्वास्थ्यजाँचको समन्वय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइले गरेको छ । सीमानाकामा नेपाली सेनाका मात्रै ४१ स्वास्थ्य युनिट खटिएका छन् ।

भारत सरकारले तोकेका रानीगन्ज, रक्सौल, सुनौली र वनवासा नाकामा स्वास्थ्य मन्त्रालयले हेल्थ डेस्कको व्यवस्था गरेको छ । हरेक नाकामा तीनदेखि पाँचजनासम्म स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता सागर दाहालले बताए ।

स्वास्थ्य निर्देशनालय, प्रदेश २ ले रक्सौल सीमानाकामा तीनदेखि पाँच जनासम्म स्वास्थ्यकर्मी खटाएको छ । कर्णाली बाहेकका प्रदेशले सीमानाकामा स्वास्थ्यकर्मी खटाएका छन् ।

प्रदेश ५ अन्तर्गतका कोइलावास, जमुनाहा, फुतहा जमुनी, कण्ठडपुर, सुरजपुर र मधुवनसहितका नाकामा स्वास्थ्यकर्मी खटाइएको छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत भारतसँग जोडिएका ११ नाकामा हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्यजाँचको व्यवस्था गरिएको छ । नयाँ पत्रिका दैनिकबाट

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’