सेनाले तयार बनायो ५२ बेडको आइसोलेसन वार्ड, प्रहरीलाई बिदा बस्न रोक

काठमाडौं/ । कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई मध्यनजर गर्दै सेनाले ५२ बेडकोे आइसोलेसन वार्ड तयार गरेको छ ।
त्यसमा सैनिक र गैरसैनिकको उपचार गरिने छ ।पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगी अड्डा परिसरमा विभिन्न युनिटमा कार्यरत सकल दर्जालाई तालिम गराएको छ । स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिइएको प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए ।
‘तालिम पाएका एक सय ८१ जनाले अब आठ पृतना र मातहतका बाहिनी र युनिटमा गएर तालिम दिनेछन्, यो प्रशिक्षक प्रशिक्षण तालिमजस्तै हो,’ प्रवक्ता पाण्डेले भने, ‘हाम्रो जनशक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको यो आन्तरिक तयारीसम्बन्धी तालिम हो ।’
सेनामा ९६ हजार पाँच सय जनशक्ति छ । एउटा ब्यारेकमा आठ सयसम्म जनशक्ति छ । उनीहरूलाई लक्षित गरेर दु्रत गतिमा तालिम दिने र सरकारी निर्देशनका आधारमा नागरिकको स्वास्थ्योपचार र सुरक्षामा खटाउने सेनाको तयारी छ ।
तालिममा सेनाले कोरोना भाइरससम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरेको थियो । क्वारेन्टाइन सेटअप र पानीको शुद्धीकरण, फोहोर व्यवस्थापन, बिजुली तथा पानीको धारा व्यवस्थापन, फिल्डका शौचालय व्यवस्थापन, भाइरस रोकथाम र नियन्त्रणका विषयमा सैनिक टोलीलाई सैद्धान्तिक र व्यावहारिक तालिम दिइएको पाण्डेले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार नौवटा श्रेणीमा विभाजन गरेर हरेक टेन्टमा दुईजना व्यक्ति रहने गरी क्वारेन्टाइन तयार गर्ने तालिम सेनाले दिएको छ ।
‘आठै पृतनाबाट सहभागी सैनिकले अब आफू कार्यरत युनिटमा गई कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यक बमोजिम स्थानीयस्तरमा क्वारेन्टाइन क्याम्प स्थापनासहित भाइरस संक्रमण रोकथाम र नियन्त्रणको काम गर्नेछन्,’ पाण्डेले भने । सरकारको निर्णयबमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध रोकथाम र नियन्त्रणका लागि उपलब्ध भएका सबै उपाय अवलम्बन गर्न प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।
५२ बेडको आइसोलेसन वार्ड
कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यान दिँदै सेनाले ५२ बेडसम्मको आइसोलेसन वार्ड तयार गरिरहेको छ । यसअघि चीनबाट ल्याइएका १७५ नेपालीलाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइन व्यवस्थापन गरेको सेनाले अहिले काठमाडौंको छाउनी अस्पताल तथा सबै पृतना एवं क्षेत्रीय सैनिक अस्पतालमा तयारी थालेको हो । सो क्वारेन्टाइन केन्द्र पनि भविष्यका लागि उपयोगमा ल्याउने गरी सरकारले तयारी अवस्थामा राखेको छ ।
सबै पृतनामा कम्तीमा दुईवटा र नेपालगन्ज, पोखरा र धनगढीस्थित क्षेत्रीय सैनिक अस्पतालमा पनि कम्तीमा दुई–दुईवटा आइसोलेसन वार्ड तयार भएका छन् । ‘फिल्ड एम्बुलेन्समा समेत गरेर हामी ५२ वटा आइसोलेसन बेड तयार गर्दै छौँ । तत्कालका लागि हामीले आन्तरिक प्रयोजनका लागि उपयोग गर्नेछौँ,’ पाण्डेले भने ।
सेनाले ब्यारेकमा रहेका खुला स्थानमा कम्तीमा ३० बेडदेखि ८४ बेडसम्मको टेन्ट राख्ने पनि तयारी गरेको छ । ०७२ को भूकम्पमा आएका टेन्ट सेनाले आठैवटा पृतना र मातहतका ब्यारेकका लागि पठाएको छ ।
‘तालिमका क्रममा टेन्ट पनि तयार हुँदै जान्छन्, सरकारी निर्णयका आधारमा भविष्यमा सैनिक र गैरसैनिकका लागि यो प्रयोग गर्छौँ,’ पाण्डेले भने, ‘सरकारी निर्णय नहुन्जेलका लागि भने सैनिक जनशक्तिका लागि यो प्रयोग हुन्छ । हामीले अहिले खुला स्थान हेरेर कतिसम्म टेन्ट राख्न सकिन्छ बुझ्नू भन्ने निर्देशन पठाएका छौँ ।’
पाण्डेका अनुसार सेनाले ब्यारेकबाहिर पिटी परेड खेल्न सामूहिक रूपमा ब्यारेक बाहिर निस्कन रोक लगाइसकेको छ । नियमित ज्वरो जाँच्न र हरेक ब्यारेकमा साबुनले हात धुने व्यवस्था मिलाइएको छ । आइसोलेसन वार्ड बनाउने र सफा गर्ने उपाय पनि सेनाले बताएको छ ।
शान्ति मिसनमा सतर्कता, दक्षिण सुडानमा सैनिक नजाने
सेनाले विश्वका विभन्न शान्ति स्थापक मिसनमा कार्यरत नेपाली शान्ति सैनिकका लागि कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न ‘नियन्त्रणात्मक र निषेधात्मक’ उपाय अपनाइएको जनाएको छ । सेनाले दक्षिण सुडानमा शान्ति सैनिक तत्काल नपठाउने भएको छ ।
मिसनमा तैनाथ शान्ति सैनिकद्वारा सचेतना कार्यक्रम र संक्रमणबाट खतरामुक्त रहेको यकिन गर्न आवश्यक प्रबन्ध मिलाइएको जंगी अड्डाले जनाएको छ ।
‘संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कबाट सतर्कता अपनाउन निर्देशन प्राप्त भइरहेको छ भने नेपाली सेनाको जंगी अड्डाबाट समेत मिसनमा तैनाथ शान्ति सैनिकका लागि निरन्तर रूपमा आवश्यक निर्देशन दिइरहेको छ’ जंगी अड्डाद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।
विश्वका विभिन्न ११ वटा मुलुकमा पाँच हजार १०१ जना शान्ति सैनिक र पर्यवेक्षकका रूपमा कार्यरत छन् । ‘संक्रमणको जोखिमको मूल्यांकन गरी नेपाली शान्ति सैनिकद्वारा आफ्ना अपरेसनल तथा अन्य गतिविधि सीमित गरिएको र नेपाली शान्ति सैनिकद्वारा स्थानीय बासिन्दालाई समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्’ जंगी अड्डाले भनेको छ ।
दक्षिण सुडानले एसियाली पाँच मुलुकहरू चीन, भारत, कम्बोडिया, दक्षिण कोरिया र नेपालका शान्ति सैनिकको हवाई आवागमनमा रोक लगाएको छ । अहिले सुडानमा तैनाथ हुन जाने शान्ति सैनिकहरूको पूर्वपरिचालन स्थगित गरिएको छ ।
‘स्वास्थ्य परीक्षण गरी कोरोनामुक्त भएको यकिन गरेपछि मात्र मिसनमा तैनाथ गर्नका लागी आवश्यक व्यवस्था मिलाइएको छ र सोहीबमोजिमको जानकारी न्युयोर्कस्थित संयुक्त राष्ट्र संघको मुख्यालय तथा मिसन हेडक्वार्टरमार्फत दक्षिण सुडान सरकारलाई गराइसकिएको छ’ सैनिक मुख्यालयले भनेको छ ।
प्रहरीलाई बिदा बस्न रोक
देशमा कोरोना संक्रमण भए कसरी काम गर्ने भन्नेबारे नेपाल प्रहरीले आन्तरिक कार्ययोजना बनाएको छ । संगठनकै सदस्यमा सतर्कता बढाउनेदेखि पुलिसिङको योजना समेत बनाएको छ ।
सतर्कताअन्तर्गत भिडभाड हुने क्षेत्रमा खटिँदा अनिवार्य रूपमा मास्क लगाउन थालिएको छ । बुधबार उपत्यकामा कार्यरत सबै प्रहरीलाई मास्क वितरण गरिएको छ । मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नसमेत निर्देशन दिइएको छ ।
संगठनमा एक जनालाई संक्रमण भएमा एकैपटक धेरैमा फैलन सक्ने भएकाले कतिपय कार्यालयमा थर्मल गनमार्फत ज्वरो नाप्न समेत थालिएको छ । हिरासतमा उच्च जोखिम हुने भएकाले सावधानी अपनाउन भनिएको छ ।
कोरोना संक्रमणको अवस्था आएमा बजारमा कालोबजारी बढ्न सक्ने भएकाले विशेष सक्रियता अपनाउनुपर्ने कार्ययोजनामा उल्लेख छ । अत्यावश्यकबाहेक प्रहरीलाई बिदा बस्नसमेत रोक लगाइएको प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । सरकारले फिल्महल, जिम, डिस्कोसमेत बन्द गर्ने निर्णय गरेकाले त्यस्ता क्षेत्रमा अनुगमनमा समेत प्रहरी खटाउन लागिएको छ ।
७७ जिल्लामै सशस्त्र प्रहरीको तयारी
सशस्त्र प्रहरी बलले ७७ जिल्लामै कोरोनाविरुद्ध तयारी गरिरहेको छ । हरेक कार्यालयमा क्वारेन्टाइनका लागि कोठा बनाइएको छ । सर्वसाधारण तथा प्रहरी दुवैलाई हुने गरी कोठा तयारी अवस्थामा राखिएको छ ।
सीमा क्षेत्रमा यात्रु जाँचमा सशस्त्र प्रहरीलाई समेत खटाइएको छ । स्वास्थ्यकर्मीलाई सहयोग गर्न समेत सरकारले सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ । त्यस्तै, संक्रमण देखिएमा आकस्मिक जिम्मेवारीका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ । नयाँ पत्रिका दैनिकबाट