पर्वत जिल्ला कारागार क्षमता २५ जना संख्या ८९ जना

पर्वत / जिल्ला कारागार पर्वतमा क्षमताभन्दा बढी कैदीबन्दी राख्‍नुपर्दा कैदीबन्दीहरूलाई समस्या भएको छ।
२५ जना मात्र राख्‍न मिल्‍ने कारागारमा ८१ जना पुरुष र ८ जना महिला गरी ८९ जना खाँदिएर बस्नुपरेको निमित्त जेलर हरिकृष्ण शर्माले बताए। क्षमताभन्दा बढी कैदी बन्दीलाई खाँदेर राख्‍नुपर्दा बस्न, सुत्न, शौचालय र धाराको पानी प्रयोग गर्न समस्या भएको उनको भनाइ छ। ‘२५ कैदीको क्षमता रहेको कारागारमा ३ गुणा बढी कैदी र थुनुवालाई राख्‍नुपरेको छ।’
निमित्त जेलर शर्मा भन्छन्, ‘शौचालयको प्रयोग गर्न लाइनमा बस्नुपरेको छ, उनीहरूलाई बस्न र सुत्न पनि उस्तै समस्या छ।’ कारागारमा पुरुषहरूलाई राख्‍नका लागि ६ वटा कोठा र महिलाको लागि एउटा कोठा छ। ती कोठामा पर्वत, स्याङ्जा, कास्की र तनहुँ जिल्लाका कैदी बन्दी छन्।

पर्वत कारागारमा पुरुष कैदीको सङ्ख्या ७३, महिलाको सङ्ख्या ७ गरेर ८० जना तथा थुनुवातर्फ ८ जना पुरुष र १ जना महिला गरेर ८९ जना रहेका छन्। तिनीहरूमध्ये सबैभन्दा बढी करणी मुद्दाका छन् भने दोस्रोमा कर्तव्य ज्यान मुद्दाका छन्। जबरजस्ती करणीमा २४ जना कैदी र २ जना थुनुवा रहेका छन् भने कैदीमध्येका २ जना विदेशी नागरिक रहेका छन्। यस्तै जबरजस्ती हाडनाता करणी मुद्दाका २ जना, जबरजस्ती करणी उद्योगमा ४ जना र जबरजस्ती करणी तथा अप्राकृतिक मैथुनमा २ जना रहेका छन्। यस्तै, कर्तव्य ज्यानसम्बन्धी मुद्दामा रहेका २३ जनामा २२ जना कैदी र १ जना थुनुवा रहेका छन्।
कैदीमध्ये ४ जना महिला छन्। निमित्त जेलर शर्माका अनुसार रहजनी चोरीमा ६ जना कैदी, नकवजनी चोरीमा ४ जना, लागुऔषधमा ३ जना, सवारी ज्यानमा २ जना, जिउ मास्ने तथा मानव बेचबिखनमा १ जना, केही सार्वजनिक अपराधमा १ जना, ज्यान मार्ने उद्योगमा २ जना, गौबधमा २ जना, बहुविवाहमा ४ जना, कुटपिट तथा अंगभंगमा २ जना, ठगी किर्तेमा १ जना र बालयौन दुरुपयोगमा ४ जना कैदी बन्दी छन्।

महिला कैदीबन्दी राख्‍नका लागि छुट्टै भवन निर्माण गर्न थालिएको भए पनि त्यो भवन भने अलपत्र परेको छ। पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दीगृह ९ वर्षदेखि अलपत्र अवस्थामा छ।
२०६६ सालको माघ महिनाबाट भवन निर्माण सुरु गरिएकोमा छेकाबारेको लागि रहने बाहिरी भित्ता निर्माण गरेपछि बजेट अभाव भन्दै भवन निर्माण कार्य अलपत्र छ।
बन्दीगृह निर्माण स्थल सम्याउने, जग राख्‍ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ। तर, आवश्यक परेको बजेट नआउँदा ९ वर्षअगाडि इँटाबाट निर्माण गरिएका भित्ताहरू समेत पल्टने अवस्थामा पुगेका छन् भने बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’