छ बर्ष खाडी बसेर फर्केका ढकाल भन्छन- विदेशभन्दा स्वदेशमै गाई पालेर गोबर फाल्न मजा

पर्वत /पर्वतको कुस्मा नगरपालिका-९ कटुवाचौपारीस्थित देउतीखेतका शिव ढकाल उमेरले ३३ वर्षका भए।
वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षसम्म दुबईमा बसेका उनको अहिलेको दैनिकी हेर्दा धेरैको मन लोभिन्छ।
सबेरै गाईको गोठमा जाने उनले विदेशीको कम्पनीमा गुलामी गर्नुभन्दा आफैँले पालेका गाईको भकारोमा गोबर सफा गर्न मन पराउँछन्। पिठ्युँमा डोको बोकेर मुठो खापेर घाँसको भारी बोक्छन्। बिहान र बेलुका बाल्टी भरिने गरेर गाई दुहुन्छन्, बजार पठाउँछन्। परिवारको साथमै दैनिकी काटिरहेका छन्, टोल छिमेकमा मर्दा र पर्दा सबैलाई सघाउँछन्।
स्वदेशकै श्रम प्यारो
विदेशमा रहँदा पनि राम्रै कमाइ गरेका ढकाललाई अर्कैको देशमा पसिना खर्चिनुभन्दा स्वदेशमा श्रमिकको रूपमा काम गर्न इच्छा जाग्यो।
यही कारण दुबई बसाइका लागि भिसामा रहेको एक वर्षको अवधि अगाडि नै अकस्मात घर जानु परेको भन्दै स्वदेश फर्किए, तर फेरि फर्केर दुबई गएनन्। ‘मलाई विदेशमा अर्काको काम गरेर अरूलाई धनी बनाउनुभन्दा आफ्नै माटोमा पसिना चुहाएर गरिब बन्न मन लाग्यो।’ उनले भने, ‘घरमा इमर्जेन्सी परेको बहानामा एक वर्ष अगाडि नेपाल आएपछि गाई पालन गरिरहेको छु।’
गएको असारमा ५ वटा होलेस्टोन जातका गाई पोखराबाट ल्याएर गाई पालन सुरु गरेका उनको गोठमा अहिले जर्सी र होलेस्टोन गरेर १६ वटा गाईहरू छन्। गाई पालन सुरु गरेको ९ महिनाको अवधिमा झन्डै ६० लाख रुपैयाँ लगानी गरिसकेको ढकालले बताए। ‘मङ्सिरमा ४ लाख रुपैयाँको त पराल मात्र खरिद गरेको हुँ।’ शिव भन्छन्, ‘सुरुमा पोखराबाट ५ ओटा गाई ल्याएको हुँ, अहिले गोठमा १६ वटा गाई छन्। कोही लैना छन्, कोही अब ब्याउने पनि छन्।’
गाईपालनमा सन्तुष्टि
गाईलाई आवश्यक पर्ने दाना, घाँस, पराल, औषधि लगायतका वस्तु खरिद गर्दा महिनामा झन्डै ८० हजार रुपैयाँ खर्च हुने गरेको छ भने उनले मासिक बचत झन्डै ७० हजार रुपैयाँ गर्दै आएका छन्।
विदेशमा योभन्दा धेरै आम्दानी हुने गरेको भए पनि आफ्नै ठाउँमा रहनुको मज्जा विदेशमा नपाइने भएकोले आफूले गर्दै आएको आम्दानीबाट सन्तुष्ट रहेको ढकाल बताउँछन्। एउटा गाईले दैनिक औसतमा १ सय १० लिटर दूध दिने र प्रतिलिटर ५८ रुपैयाँका दरमा बिक्री गर्ने गरेको उनले बताए। गाई फार्मबाट उत्पादन हुने दूध नजिकै रहेको सदरमुकाम कुस्मा बजारमा बिक्री हुँदै आएको छ। गाई पालनमा निकै खुसी देखिने शिवले दुई जनालाई राम्रो तलब दिएर रोजगारी पनि दिएका छन्।
कृषकमैत्री छैन स्थानिय सरकार
शिवले गाई फार्मभन्दा केही तल आफ्नै जग्गामा गाईलाई पोसिलो हुने घाँस लगाएका छन्।
गोठमा जम्मा भएको गहुँतलाई सोही घाँसबारीमा पाइपमार्फत लैजान उनले कुस्मा नगर कार्यालयमा २ सय मिटर पाइप माग गरेका रहेछन्। नगरपालिकाका प्रमुख र उपप्रमुखलाई पटक-पटक भेटेर अरू अनुदान नपाए पनि पाइपको माग गर्दासमेत पाउन नसकेको ढकालले बताए। ‘केही कामै नगरी बस्नेहरूका आँटी र धन्सारमा पाइपका रोल थन्क्याइएका छन्, तर म केही गर्छुभन्दा पनि मलाई नगरपालिकाले पत्याएन’ शिव भन्छन्, ‘नगरपालिकाले दुई सय मिटर पाइप दिँदैमा गाई पालन सप्रिहाल्ने, नदिए बिग्रिहाल्ने त होइन। तर कृषकका पक्षमा काम गर्छौँ भनेर नाराबाजी गर्नेहरूले पर्दाखेरि के गर्ने रहेछन् भन्ने थाहा भयो।’
सहयोगी छैनन् राजनीतिक दल
राजनीतिक दलहरूको लडाइँ र कार्यकर्तामुखी अनुदान बाँड्ने प्रवृत्तिका कारण वास्तविक कृषकहरूको पक्षमा राज्यको लगानी जान नसकेको उनको गुनासो छ।
आफ्नै गाई फार्मनजिकै रहेको सडकबाट जनप्रतिनिधि र कर्मचारीहरू ओहोरदोहोर गर्दा आफूले गरेको मिहिनेत देखेको भए पनि उनीहरूको मनमा सहयोगको भावना नआएको ढकालले दाबी गरे। काम चलाउको रूपमा कृषि कर्म गरिरहेकाहरूले पटक-पटक तालिमहरू पाउने गरेको भए पनि लाखौँको लगानी गरेर व्यावसायिक रूपमा गाई पालन गरिरहेको आफूले ९ महिनाको अवधिमा निकै जोड बलले एकपटक मात्र तालिममा सहभागी हुने मौका पाएको सुनाए। ‘अनुभव नभएको काममा लाखौँको लगानी गरेको छु, गाईमा अलिकति मात्रै समस्या देखियो भने पनि विदेशमा पसिना बेचेर कमाएको सबै लगानी डुब्छ।’ उनी भन्छन्, ‘कार्यालयहरूमा आउने तालिममा मलाई पनि अवसर दिए गाई पालनको विषयमा प्राविधिक ज्ञान पाइने थियो, जोखिम कम हुने थियो।’थाहाखबरबाट