विश्व स्वास्थ्य संगठनको घोषणा : कोरोना भाइरस विश्वव्यापी महामारी

जेनेभा/ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै महामारी घोषणा गरेको छ। तीन महिनाअघि सुरू भएको यो नयाँ कोरोना भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि बुधबार संगठनले महामारी घोषणा गरेको हो।
डब्लुएचओ प्रमुख डा टेडरोस अधानोम घेब्रेयससले विगत २ सातायता चीनबाहिर कोरोनाको संक्रमण १३ गुणा बढेको भन्दै महामारी घोषणा गर्ने निष्कर्षम पुगिएको बताएका छन्। उनले भनेका छन्, ‘विश्वका सबै देशले महामारी नियन्त्रण गर्न केही न केही उपाय अपनाउनुपर्ने देखिन्छ ।’
कोरोना भाइरसका कारण १ लाख १० हजार भन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने करिब ४ हजार मानिसको मृत्यु भइसकेको छ। चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन्। कम्तिमा १०९ देशमा कोरोना भाइरस पुगेको छ।