चीनका ७० प्रतिशत कोरोना संक्रमित निको भए, वुहानका १४ अस्थायी अस्पताल बन्द


वुहानस्थित खेलकुद हलमा बनाइएको अस्थायी अस्पताल । कोभिड–१९ संक्रमित अन्तिम बिरामी निको भएर गएपछि सोमबारबाट अस्पताल बन्द गरिएको छ ।

बेइजिङ /कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचारका लागि चीनको हुबेई प्रान्तस्थित वुहानमा बनाइएका १४ अस्थायी अस्पताल सोमबार बन्द गरिएका छन् । सहरमा भाइरस संक्रमितको संख्या घट्दै गएपछि ती अस्पताल बन्द गरिएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन् ।

डिसेम्बर अन्तिमबाट कोभिड–१९ संक्रमण फैलन थालेपछि मध्यम खालका संक्रमितलाई उपचार गर्न र संक्रमणको स्रोतलाई आइसोलेसनमा राख्नका लागि वुहानमा प्रदर्शनी केन्द्र र जिमनासियम हलजस्ता १६ सार्वजनिक स्थललाई अस्थायी अस्पतालमा रूपान्तरण गरिएको थियो ।

सोमबार दिउँसो ३ बजे जियाघानस्थित अस्थायी अस्पताल बन्द गरिएसँगै अब वुहानमा दुइटा मात्रै त्यस्ता स्वास्थ्य संस्था सञ्चालनमा छन् । बाँकी रहेका दुई अस्पताल पनि मंगलबारसम्ममा बन्द गरिने कोभिड–१९ नियन्त्रण मुख्यालयले जनाएको छ । अस्थायी अस्पतालमा १२ हजार बिरामीलाई उपचार गरिएको थियो ।

कोभिड–१९ को उद्गमस्थल चीनमा संक्रमित र मृतक संख्या कम हुँदै गएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले मंगलबार बिहान जनाएअनुसार पछिल्लो २४ घण्टामा देशैभर मात्र १९ जनामा कोरोना संक्रमण देखिएको छ भने मात्र १७ जनाको मृत्यु भएको छ । जनवरी २० बाट दैनिक रूपमा बिरामीको जानकारी दिन थालेयता यो सबैभन्दा कम संख्या भएको चिनियाँ अधिकारीले बताएका छन् । डिसेम्बर अन्तिममा पहिलो संक्रमण देखिएयता चीनमा एकै दिन १५ हजारसम्म संक्रमित पुष्टि थियो । चीनमा आइतबारै १ हजार ५ सय ३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । एकै दिन ५ हजार १ सय ११ जनासम्म कोभिड–१९ का सिकिस्त बिरामी पाइएको चीनमा आइतबार मात्र १ सय ५३ जना त्यस्ता बिरामी पुष्टि भएको स्वास्थ्य आयोगले जनाएको छ ।

चीनमा हालसम्म ८० हजार ७ सय ५४ जनामा कोभिड–१९ पुष्टि भएकोमा ५९ हजार ९ सय ५ जना निको भएर घर गएका छन् भने १९ हजार १६ जना अस्पतालमा उपचाररत छन् । चीनमा कोभिड–१९ का कारण ३ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

संक्रमितको समीपमा आएका २० हजार १ सय ४६ जना अझै पनि मेडिकल अब्जरभेसनमा रहेको र आइतबारै तीमध्ये ३ हजार ८ सय २ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको आयोगले जनाएको छ । हालसम्म चीनबाहिरबाट आएका ६७ जनामा संक्रमण पुष्टि भएको उसले उल्लेख गरेको छ ।

यसैबीच विश्‍व स्वास्थ्य संगठन(डब्लूएचओ)का महानिर्देशक टेड्रोस एडानोम गेब्रेयससले चीनमा संक्रमितमध्ये ७० प्रतिशत निको भएको जानकारी दिएका छन् । सोमबार नियमित पत्रकार सम्मेलनका क्रममा महानिर्देशक गेब्रेयससले चीनमा ७० प्रतिशतभन्दा बढी व्यक्ति निको भएको र अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका हुन् । विश्‍वभर फैलिएको संक्रमध्ये ९३ प्रतिशत चार देशमा मात्रै भएको बताउँदै रोकथामका लागि भाइरसप्रति दया नदेखाइ सबै एकजुट भएर लड्नुपर्ने उनले बताए ।

इरानमा ७० हजार कैदी रिहा
इरानले ७० हजार कैदी जेलमुक्त गरेको छ । इरानी न्यायालय प्रमुख इब्राहिम राइसीले कोभिड–१९ संक्रमण थप नफैलियोस् भनेर कैदीबन्दी रिहा गरेको जानकारी दिए पनि विस्तृत विवरण भने दिएका छैनन् । उनले ती कैदी जेलमा कहिले फर्कन्छन् वा सधैंका लागि रिहा भएका हुन् भन्नेबारे पनि बोलेका छैनन् । ‘समाजमा सुरक्षा चुनौती नहुने अवस्थासम्म कैदी रिहा गरिने छ,’ इब्राहिमलाई उद्धृत गर्दै न्यायालको वेबसाइटमा उल्लेख छ ।

इरानमा कोभिड–१९ बाट सोमबारसम्ममा २ सय ३७ जनाको मृत्यु भएको छ । इरानी स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ सय ६१ जना संक्रमित पुष्टि भएका छन् । चीनबाहिर कोभिड–१९ बाट मृत्यु हुने दर इरानमा धेरै छ । त्यसपछि दक्षिण कोरियामा संक्रमित धेरै छन् ।

विदेशीले उत्तर कोरिया छोडे
उत्तर कोरियामा कोरोना भाइरस संक्रमणका आशंकामा केही सातादेखि क्वारेन्टाइनमा बस्न बाध्य पारिएका ८० विदेशीले प्योङयाङ छोडेका छन् । उत्तर कोरियाको राष्ट्रिय ध्वजावहाक एयर कोर्यो विमानले उनीहरूलाई रूस लिएर गएको एनके न्युजले उल्लेख गरेको छ । विमानमा अधिकांश प्योङयाङस्थित विभिन्न देशका दूतावासका कर्मचारी र कूटनीतिज्ञ
रहेका छन् ।

रुसको भ्लादिभोस्तोकमा सोमबार बिहानै अवतरण गरिएको विमानमा रहेका विदेशी नागरिक कसरी आ–आफ्ना देश जान्छन् भन्नेबारे भने केही बताइएको छैन । उत्तर कोरियामा झन्डै एक महिनापछि कुनै पनि व्यावसायिक विमान कम्पनीले उडान भरेको हो । चीनको छिमेकी देश भएका कारणले पनि कोभिड–१९ संक्रमण फैलने डरले उत्तर कोरियाले राजधानी प्योङयाङमा रहेका कैयौं देशका सयौं विदेशीलाई क्वारेन्टाइनमा बस्न भनेको थियो । सबै विदेशी विमानमार्फत गएपछि उत्तर कोरियास्थित विभिन्न देशका कूटनीतिक निकायका कार्यालय खाली भएका छन् ।

जेलमा दंगा, कम्तीमा ६ को मृत्यु
कोभिड–१९ संक्रमण थप फैलन नदिन इटाली सरकारले चालेका कदमविरुद्ध भएका दंगामा कम्तीमा ६ जनाको मृत्यु भएको छ । जेलमा आगन्तुकलाई आउन नदिने गरी सरकारले प्रतिबन्ध लगाएको विरोधमा उत्तरी क्षेत्रमा रहेका मोदेना जेलका बन्दीले एउटा भवनमा आगो लगाइदिएपछि दंगा भड्किएको थियो । भाइरस संक्रमण नियन्त्रणभन्दा बाहिर जान थोलपछि सरकारले आइतबारदेखि अप्रिल ३ सम्मका लागि करिब एक करोड ६० लाख जनतालाई क्वारेन्टाइनमा बस्न भनेको थियो । मंगलबार बिहानसम्म इटालीमा ४६३ जनाको मृत्यु भएको छ भने ९ हजार एक सय ७२ जनामा संक्रमणको पुष्टि भएको छ ।

विभिन्न कार्यक्रम स्थगित
कोरोना प्रकोपका कारण विश्वभर विविध कार्यक्रम स्थगित गरिएका छन् । विभिन्न देशमा खेलकुद र सांस्कृतिक कार्यक्रम पनि रोकिएका छन् । इन्डियन वेल्स टेनिस टुर्नामेन्ट, साउदी खेलकुदलगायतका खेल गतिविधि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएका हुन् । चर्चित कोरियाली सांस्कृति समूह के–पपको जापान यात्रा पनि हाललाई रोकिएको छ । युरोपेली संसद्ले यसै साताका लागि तय गरिएको विस्तारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगन गरेको छ । कैयौं देशले कोरोना प्रभावित राष्ट्रका नागरिकलाई प्रवेशमा रोक लगाएका छन् ।

विश्वभर कोभिड–१९ संक्रमितको संख्या सोमबारसम्ममा १ लाख १४ हजार नाघेको छ भने मृतकको संख्या ४ हजार २६ पुगेको छ । विश्वका लगभग आधाभन्दा बढी देशमा भाइरस संक्रमित पाइएका छन् । विश्वभर ६४ हजारभन्दा बढी संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सम्बन्धित समाचार

Comments are closed

भर्खरै view all

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना संग थाई नेपाली संघका पदाधिकारी भेट- गैह्र आवासीय नेपाली परिचयपत्र उपलब्ध गराउन पहलका लागि आग्रह

पर्वतका कुस्मा र फलेबास नगरपालिकाले ल्याउन सकेनन बजेट

ग्रामीण क्षेत्रलाई सुरक्षित राख्न गाउँ अभियानमा ट्राफिक

बन्दीपुरमा केबलकार-रोप परीक्षण र गोन्डोलामार्फत सामान बोकेर लोड परीक्षण

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता , ‘छेन्दु– पोखरा उडानका लागि चीन तयारी अवस्थामा’